
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेनजी आन्दोलबाट जलेको उड्डयन प्राधिकरणको बबरमहलको कार्यालय मर्मत नगर्ने भएको छ ।
जेनजी आन्दोलनबाट ध्वस्त भएको बबरमहल कार्यालयको सबै विभाग र कर्मचारीलाई सिनामंगलको केन्द्रीय कार्यालयमा सारेकोले पुरानो भवनलाई भत्काएर अब नयाँ बनाउने गृहकार्यमा लाग्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
‘तत्काल भवन भत्काउने र नयाँ बनाइहाल्ने योजना थिएन् । आन्दोलनका कारण आगलागीको निसानामा परेपछि अब त्यहाँ मर्मत नगरी कुनै गतिविधि अगाडि बढाउन नसकियो भयो । यो भवन मर्मत गरेर अहिले खर्च गर्नुभन्दा यसलाई भत्काएर नयाँ व्यापारिक भवन बनाउने योजनालाई कार्यान्वयन गर्ने गरी जाने तयारी भएको छ,’ उनले भने ।
प्राधिकरणको सिनामंगल कार्यालयबाट अहिलेलाई सबै काम गर्न सकिने भएको छ । प्राधिकरणलाई नियामक र सेवाप्रदायक छुट्याउने र नियामक सिनामंगलमा राख्ने र सेवाप्रदायक बबरमहलमा हुने गरी भवन बनाउने योजना थियो । संसद नभएकोले अब तत्कालै प्राधिकरण टुक्राउने काम अगाडि बढ्दैन् ।
आगामी ६ महिनापछि नयाँ सरकार आयो भने त्यसपछि बन्ने कानूनबाट मात्रै प्राधिकरणको के हुने भन्ने टुङ्गो लाग्छ । त्यो बेलासम्म प्राधिकरणले पनि बबरमहलको हालको भवनको डिजाइन गरेर नयाँ बनाउने प्रक्रिया अगाडि बनाउने भएको छ ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ बाटै बबरमहलमा नयाँ भवन बनाउने काम सुरु गर्ने भनेपछि औपचारिकता दिन सकेको छैन् । त्यसका लागि प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन र नक्सापाससहितको प्रक्रियाका लागि १ करोड रुपैयाँसमेत विनियोजन गरिको थियो । सोही अनुसार प्राधिकरणले आवश्यक काम गरिरहेको उल्लेख छ । अब भने प्राधिकरणलाई नयाँ भवन छिटो बनाउन दबाब परेकोले पनि र आगलागीमा परेको संरचानालाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको हो ।







प्रतिक्रिया