‘क्राउड फन्डिङ’बाट जेनजी आन्दोलनमा भएको क्षति पुनर्निर्माणको स्रोत जुटाउने सरकारको निर्णय

अर्थतन्त्रको पुनरुत्थानका लागि कार्ययोजना तयार

315
Shares

काठमाडौं । सरकारले ‘क्राउड फन्डिङ’बाट जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनर्निर्माणका स्रोत व्यवस्थापन गर्ने भएको छ ।

क्षति भएका सार्वजनिक सम्पत्तिको पुनर्निर्माण गर्न, आन्दोलनबाट ज्यान गुमाएका परिवालाई थप सहयोग गर्नेसहितको काममा प्रयोग हुने गरी क्राउड फन्डिङ अर्थात सर्वाधारणसँग पैसा उठाएर गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताए ।

यो कोषमा स्वतन्त्र रुपमा जसले पनि सहयोग गर्ने सक्ने खालको हुनेछ भने जेनजीहरुले स्वतस्फूर्त रुपमा उठाएको रकम पनि सोही कोषमा राखेर खर्च गर्ने अर्थमन्त्री खनालले बताए । यसका लागि सरकारले क्राउड फन्डिङको निर्णय गरेलगत्तै कार्यान्वयमा जाने गरी तयारी भएको छ ।

अर्थमन्त्री खनालले गरेको पहिलो निर्णयबाट टुक्रे आयोजना कार्यान्वयन नगर्ने र त्यसको बजेट काटेर सकारले पुनर्निर्माण र चुनाव खर्च जुटाउने भएको छ ।

अर्थमन्त्री खनालका अनुसार हालसम्म १३ सय वटा अयोजनाबाट करिब १ खर्ब १० अर्ब रुपैयाँको स्रोत जोहो हुने देखिएको छ । यी आयोजानाबाट काटिने चालु खर्च पनि १३ अर्ब रुपैयाँ आउने देखिएको छ ।

चालु खर्च वर्षेनी ५/७ प्रतिशत खर्च नहुने भएकोले त्यसलाई पनि आधार बनाएर १२/१३ अर्ब रुपैयाँ खर्च गर्ने सकिने गरी बजेट निस्कन्छ भन्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

कतिपय सुरु नभएका, राजनीतिक स्वार्थबाट बजेटमा राखिएका, प्रोजेक्ट बैंकमा नपरी सिधै बजेटमा आएका तथा बजेट प्रणालीमा राखिएका तर अहिले कार्यान्वयन नगरेपनि हुने आयोजनाको बजेट काटिने पनि अर्थमन्त्री खनालले बताए । उनका अनुसार अत्यावश्यक भएका र नगरी नहुने आयोजनालाई पछि निर्णय गरेर बजेट दिन सकिने भन्दै अहिलेलाई कटौतीको निर्णय भएको बताए ।

सरकारको ध्यान निर्वाचनमा मात्रै रहने भएकोले यो वर्षलाई तालिम, गोष्ठि र कुने पनि सेमिनार नहुने भएको छ । उक्त कार्यक्रममा हुने बजेट कटौती गर्ने गरी अर्थ मन्त्रालयले प्रस्ताव तयार पारिसकेको पनि खनालले बताए ।

उनका अनुसार यस अघि प्रदेश र संघको निर्वाचन गराउँदा २५ अर्ब रुपैयाँ खर्च भएको अधारमा यसपाली पनि सोही हाराहारीमा बजेट खर्च हुने अनुमान गरेर स्रोतको जोहो हुने भएको छ । मन्त्रिपरिषदले निर्वाचन आयोगलाई पर्ने बाधा अप्ठ्यारो फुकाउने काम पनि गर्ने भएको छ ।

अर्थतन्त्रको पुनर्स्थापनाको कार्ययोजना अर्थ मन्त्रालयले तयार पारिसकेको पनि अर्थमन्त्री खनालले बताए । उनका अनुसार राष्ट्र बैंकसँग सहकार्य गरेर अर्थ मन्त्रालयले कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना आजै बस्ने मन्त्रिपरिषदको बैठकमा पेश हुने र कार्यान्वयनमा लैजाने पनि खनालले बताए ।