
काठमाडौं । जनता केबल इन्डष्ट्रिजले एकै वर्ष साढे १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा ९२ करोड १० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ मा ७२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ५४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ५१ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६२ प्रतिशतले बढेको उल्लेख छ । साथै, सन् २०२० देखि सन् २०२५ सम्ममा समग्रमा व्यापार २५ प्रतिशतले बढेको जनाएको छ । कम्पनीकाअनुसार हरेक वर्ष व्यापार विस्तार हुँदै गएको बजारमा उपस्थिति बढ्दै गएको छ ।
त्यस्तै, कम्पनीको व्यापार बढे पनि नाफा भने घटेको पाइएको छ । सन् २०२१ देखि २०२३ सम्ममा १० प्रतिशत नाफा कमाएको थियो । तर, सन् २०२५ मा व्यापार बढे पनि नाफा भने घटेको छ । नाफा नबढ्नुको मुख्य कारण कच्चा पदार्थको मूल्य रहेको कम्पनीको भनाइ छ । कच्चा पदार्थको मूल्य बढ्ना नाफा बढ्न नसकेको कम्पनीले जनाएको छ ।
सन् २००५ मा स्थापना भएको कम्पनीले अल्मोनियम र कपर वायर र केबल उत्पादन गर्दै आएको छ । विराटनगरमा उद्योग रहेको कम्पनीसँग वार्षिक १ हजार ६ सय ७५ मेट्रिक टन कपरजन्य सामग्री र २ हजार ४ सय १० मेट्रिक टन अल्मोनियमजन्य सामग्री उत्पादन गर्न सक्ने क्षमता छ ।
अनिता जोढनीको ४९ प्रतिशत र पवनकुमार अग्रवालको २१ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले गत आवमा डेढ अर्ब रुपैयाँको व्यापार गर्दा ६० प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको छ । सन् २०२४ मा ७३ प्रतिशत थियो ।
कम्पनीले उत्पादन गरेको सामग्री आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रमा उच्च प्रयोग हुँदै आएको छ । कम्पनीको उत्पादित सामग्री जनता केबल ब्रान्ढमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर १ सय ७ वटा वितरक छन् ।
कम्पनीले गत आवमा डेढ अर्ब रुपैयाँको कारोबार गर्दा मल्टीस्ट्रयान्ड फ्लेक्जिबल वायरबाट मात्रै ४३ प्रतिशत व्यापार भएको छ । सन् २०२४ मा ४८ प्रतिशत व्यापार गरेको थियो ।







प्रतिक्रिया