जेनजी आन्दोलनले खस्कियो बिजनेस हाउसको ऋण तिर्ने क्षमता, इक्राले राख्यो वाचलिस्टमा

जोखिम बहन गर्नुपर्नाले बिमा कम्पनीमा पनि असर

3.1k
Shares

काठमाडौं । जेनजी प्रदर्शन र त्यसपछिको घटनाक्रमपछि एक दर्जन कम्पनीको रेटिङ सुक्ष्म निगरानीमा परेका छन् । रेटिङ एजेन्सी इक्राले ६ बिमा कम्पनी, भौतिक क्षति भएका ५ र पर्यटन क्षेत्रमा २ कम्पनीलाई इक्राले दिएको रेटिङमा ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ थपिएको हो ।

इक्राले हालैको घटनाक्रमले जेनेरल इन्स्योरेन्स क्षेत्रले बहन गर्ने जोखिम बढेको भन्दै निगरानीमा राखेको हो । इक्राले भनेको छ, ‘पुनर्बिमा कम्पनीसमेत ६ कम्पनीले पछिल्लो समय भएको क्षतिको बहुमत जोखिम बहन गर्नुपर्ने देखिन्छ ।’

इक्राले नेपाल पुनर्बिमा कम्पनी र शिखर इन्स्योरेन्सलाई डबल ए माइनस, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरलाई ए, एनएलजीलाई ए माइनस र युनाइटेड अजोडलाई ट्रिपल बी प्लस इस्युअर रेटिङ दिएको थियो ।

इक्राले यी बिमा कम्पनीको वित्तीय प्रोफाइललाई निगरानीलाई निरन्तरता दिने र आवश्यक रेटिङ कदम चाल्ने बताएको छ ।

यसैगरी भौतिक क्षति भएका व्यवसायको आम्दानीमा असर पर्ने र कर्जा तिर्ने क्षमता कमजोर हुने भन्दै उनीहरुको पनि रेटिङलाई वा विथ नेगेटिभ इम्प्लिकेसनमा राखिएको छ ।

३ अर्ब ९० करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको सीजी इम्पेक्सले एथ्री प्लस, १ अर्ब ७० करोडको रेटिङ गराएको ईओएलले एथ्री, १७ अर्ब २५ करोडको रेटिङ रगाएको भाटभटेनी सुपरमार्केटले एफोर प्लस, २ अर्ब १४ करोडको रेटिङ गराएको चन्द्रागिरी हिल्सले एलबीबी प्लस र १ अर्ब ४२ करोडका लागि रेटिङ गराएको मौलाकाली केबलकारले एलबीबी माइनस रेटिङ पाएका थिए ।

यता, पर्यटन पूर्वाधार (तारे होटल तथा केबलकार)मा क्षति पुगेकाले नेपालको पर्यटनमा यसको असर पर्ने इक्राको बुझाइ छ । पर्यटकीय सिजनका बेलामा भएको यस्तो गतिविधिले विदेशी पर्यटन आगमनमा असर पर्ने भन्दै विदेशी पर्यटकमा निर्भर व्यवसायको आम्दानीमा ह्रास आउने इक्राको अनुमान छ ।

तसर्थ, कैलाश हेलिकोप्टरको इस्युअर रेटिङ ट्रिपल बी प्लस र ओरियन्टल होटल्स (र्याडिसन होटल) को १ अर्ब ८१ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ एथ्री प्लसलाई पनि वाथ विथ नेगेटिभ इम्प्लिकेसनमा राखिएको छ ।

भदौ २३ र २४ गते प्रदर्शन र आन्दोलनका क्रममा दर्जनौं युवाको ज्यान गएको थियो भने सरकारी संरचना, संसद भवन, प्रशासकीय केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास शितल भवन, निजी क्षेत्रतर्फ भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुपको सतुंगल गोदाम र डाटा सेन्टर, थापाथली अटो हबका शोरुमहरु, सञ्चार गृहहरुलगायत सावर्जजनिक तथा व्यक्तिगत सम्पत्ति लुटपाट, तोडफोड र आगजनी भएको थियो ।

साथै हजारौंको संख्यामा सवारीधान जलाइएको थियो । यस्ता क्षतिले ती व्यवसायको आम्दानी गुम्ने र बिमा दाबी बढ्ने भन्दै रेटिङलाई निगरानीमा राखिएको हो ।

इक्राको बिजनेस हेड वर्षा श्रेष्ठले कर्जा लिने र दिने बीचको सम्झौतामा रेटिङले जोखिम कति छ भनिदिने हुनाले रेटिङ एजेन्सीले देखेको जोखिमका आधारमा सुक्ष्म निगरानीमा देखिएको बताइन् ।

‘रेटिङ गर्ने भनेको बैंकबाट लिएको कर्जा तिर्ने क्षमता कस्तो छ भनेर हेर्ने हो,’ श्रेष्ठले भनिन्, ‘सम्बन्धित व्यवसायको सम्पत्ति नभएर व्यवसायबाट कमाएर तिर्ने क्षमता छ कि छैन भन्ने वास्तविकता देखाउँछ । हाम्रो बुझाइ पनि जेन जी प्रदर्शन पछि भएको क्षतिले व्यवसायको कर्जा तिर्ने क्षमता कमजोर बनाउनेछ भन्ने हो ।’