कोशीका उद्योगी व्यवसायीले भने: निजी क्षेत्रको मनोबल टुट्दा पुँजी पलायनको खतरा बढ्यो




विराटनगर । राजनीतिक दल लगायत जुनसुकै समूहले आफ्नो माग पूरा गर्ने नाममा गर्ने प्रदर्शनमा निजी क्षेत्र सधैं शिकार हुने गरेको भन्दै कोशी प्रदेशका उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

यस्ता आन्दोलन र प्रदर्शनमा राज्यले उद्योग/व्यवसायमा सुरक्षा दिन नसकेको भन्दै कोशीका उद्योगी व्यवसायीले पछिल्लो समय निजी क्षेत्रको मनोवल गिर्दा पुँजी पलायनको खतरा बढेको गुनासो गरेका छन् ।

उनीहरूले आफ्नो र परिवारको ज्यानको समेत सुरक्षा नभएको अवस्थामा उद्योगधन्धा चलाउने र व्यापार गर्ने वातावरण नभएको भन्दै राज्यले निजी क्षेत्रको मनोवल बढाउन र पुनरुत्थानमा सहजीकरण नगरे पुँजी पलायनको खतरा बढेको औंल्याएका छन्।

‘आफ्नो र परिवारको जीउज्यान जोगाउनै गाह्रो भयो । जसले पनि निजी क्षेत्रलाई नै तारो बनाउने गरेका छन्,’ नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको प्रश्न छ, ‘यस्तो अवस्थामा उद्योग र व्यापार कसरी सञ्चालन गर्ने?’

उनले सवै व्यापार व्यवसायमाथि आक्रमण हुँदा पुँजी लिएर हिँड्नु पर्ने अवस्था सिर्जना भएको बताए । ‘लगानी मात्र नभएर ज्यान नै जोगाउन हम्मे परेको छ। यस्तो परिस्थितिमा नयाँ लगानी थप्ने संभावना नै छैन,’ सारडाले भने, ‘यस्तो परिस्थितिले भएको पुँजी नै लिएर हिँड्ने अवस्था सृजना गरेको छ । मुलुकको अवस्थाले सातादेखि निद्रा लागेको छैन । उद्योग चलाउने र व्यापार गर्ने मनोवल गिरेको छ। कसरी ज्यान जोगाउने भन्ने त्रास छ।’

यस्तो अवस्थामा राज्यले निजी क्षेत्रको लगानी सुरक्षा दिएर लगानीको वातावण सुनिश्चित गर्नुपर्ने उनले बताए ।

‘यस वातावरणले नयाँ लगानी गर्ने भन्दापनि उद्योगी व्यवसायीलाई आफ्नो पुँजी बोकेर सुरक्षित ठाउँ खोज्न प्रेरित गरेको छ। यसलाई रोक्न राज्यले निजी क्षेत्रको लगानीको सुरक्षा दिएर लगानीको वातावरण सुनिश्चित गर्न जरुरी छ,’ सारडाले भने ।

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा राज्यमा अर्बौंको क्षति हुँदा निजी क्षेत्र पनि अछुतो रहेन । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने, ‘पछिल्लो घटनाक्रमले निजी क्षेत्रको मनोवल टुटेको छ। घटनाले उद्योगी व्यवसायीको मनोबल गिरेको छ। यस्तो अवस्थामा राज्यले पुनरुत्थानमा सहजीकरण गर्नुपर्छ ।’

राठीले निजी क्षेत्रको पुनरुत्थानमा राज्यले सहजीकरण गर्नुपर्ने बताए।

‘राज्यले निजी क्षेत्रको पुनरुत्थानमा सहजीकरण नगरे नयाँ लगानी थपिने संभावना छैन। भएको पुँजी पनि पलायन हुने खतरा निम्त्याएको छ। यसमा सरकार गम्भीर हुन जरुरी छ’ राठीले भने ।

पछिल्लो घटनाले निजी क्षेत्रले भोगेको क्षति भुलेर उद्योगी व्यवसायीहरूले पुरानै लयमा फर्कने प्रयास गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले फेरि हुने आन्दोलन र प्रदर्शनले निजी क्षेत्रलाई नछुन सक्ने सुरक्षा सरकारले सुनिश्चित गर्नुपर्ने बताए ।
‘भ्रष्टाचार र वेथिति विरुद्धको जेन–जी आन्दोलनले दलहरुलाई सत्ताच्युत गर्दा राष्ट्रले अकल्पनीय क्षति भोग्यो । त्यसमा निजी क्षेत्र पनि पिल्सियो। निजी क्षेत्र आफ्नो क्षतिलाई भुलेर पहिलाकै लयमा फर्कने प्रयास गर्दैछ।’

राज्यले उद्योगी व्यवसायीलाई सुरक्षा सुनिश्चितता नगरे पुँजी पलायनको जोखिम हुने उनी बताउँछन् ।

‘भोली फेरि राजनीतिक दल वा अन्य समूहले आन्दोलन गर्न सक्छन्। त्यस अवस्थामा राज्यले सुरक्षा सुनिश्चित गर्न नसके पुँजी पलायनको विकल्प रहँदैन,’ राउतले भने ।

राज्यलाई नियमित कर तिर्दा पनि निजी क्षेत्रले सुरक्षा पाउन सकेन । यसले उद्योगी व्यवसायीमा निराशा छाएको छ । मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले भने, ‘उद्योगी व्यवसायी आफ्नो क्षति र पीडा भुलेर पुरानै लयमा फर्कने प्रयत्नमा छन् । तर त्यसकालागि सरकारले दोषीलाई कारबाही गरेर निजी क्षेत्रको मनोवल बढाउनुपर्छ। अहिलेका दोषीलाई कारबाही गर्दा भविष्यमा हुने यस्ता घटनामा भौतिक क्षति कम हुने छ।’

निजी क्षेत्रका लागि यो अवस्था अत्यन्त चुनौतीपूर्ण र वेदनापूर्ण भए पनि परिस्थितिसँग जुध्दै पुनर्निर्माण र पुनरुत्थानमा जुट्नु अपरिहार्य छ । निजी क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । आर्थिक समृद्धिको यात्रामा जेन–जी आन्दोलनले देखाएको भ्रष्टाचार मुक्त नयाँ नेपाल निर्माणको मार्गदर्शनलाई आत्मसात गर्दै, युवाहरूको अपेक्षा अनुसार समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माणको लक्ष्यमा निजी क्षेत्रले पनि साथ दिनुपर्छ।

यहाँका उद्योगी व्यवसायीले भनेका छन्, ‘त्यसका लागि निजी क्षेत्रले आफ्नो क्षतिलाई भुल्दै, टुटेको मनोवल जागृत गरेर पुरानो लयमा फर्कनु अपरिहार्य छ।’