
काठमाडौं । यातायात व्यवस्था विभागले जेनजी प्रदर्शनको क्रममा विभागमा भएको तोडफोड र आगजनीको क्रममा लुटिएका सामान उपलब्ध गराइदिन आग्रह गरेको छ ।
विभागले उक्त घटनाको क्रममा सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभी, छपाई मेशिन, छपाई भएका सवारी चालक अनुमतिपत्र(स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्ड डिस्कलगायतका सामानहरु लुटपाट भएको जनाएको छ । चोरी भएका यस्ता उपकरण तत्कालै उपलब्ध गराइदिन विभागले आइतबार सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ ।
ति उपकरणहरु लुटपाट र चोरी हुँदा सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता प्रणालीसम्बन्धी सेवा, इम्बोस्ड नम्बर प्लेट उत्पादन र सवारी चालक अनुमति पत्र छपाइ तथा वितरणलगायतका सेवा अवरुद्ध भएको विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीले जानकारी दिए ।
जेनजीको प्रदर्शनको क्रममा गत सोमबार र मंगलबार मिनभवनस्थित विभागमा तोडफोड हुनुका साथै आगजनी भएको थियो । यसले गर्दा विभागको सम्पूर्ण भौतिक पूर्वाधार जलेर नष्ट भएको छ भने कागजात र महत्वपूर्ण उपकरणहरुसमेत जलेर नष्ट भएको छ । भौतिक संरचना नै तोडफोड र आगजनीबाट नष्ट हुँदा सेवाग्राहीलाई तत्कालै सेवा उपलब्ध गराउन समेत समस्या भएको छ ।
मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगलागी हुँदा विभागको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। आगलागीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने मेसिन जलेर नष्ट भएका छन्।
यसैबीच विभागले विभागको संरचनामा तोडफोड, आगजनीका साथै भएको तोडफोड र चोरीका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भर प्रणालीमा पूर्ण रुपमा क्षति पुगेकाले सवारी चालक अनुमतिपत्र तथा विद्य्तीय सवारी साधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाहरु अवरुद्ध भएको जनाएको छ ।
विभागले अर्को सूचना जारी नभएसम्मको लागि ति सम्पूर्ण सेवाहरु तत्कालका लागि बन्द रहने विभागले सार्वजनिक सूचना नै जारी गरेको छ ।

विभागका उपमहानिर्देशक केशव खतिवडाकाअनुसार आगलागीबाट लगभग ६ लाख १९ हजार नम्बर प्लेट नष्ट भएको प्रारम्भिक तथ्यांक छ। छपाइ गरेर राखिएका करिब २० हजार लाइसेन्स समेत क्षति पुगेको छ। अहिले लाइसेन्स आवश्यक परे पनि तत्काल उपलब्ध गराउन नसकिने अवस्था छ।
आगलागीका क्रममा कार्यालयमा पार्किङ गरिएका सात वटा गाडी पनि जलेर ध्वस्त भएका छन्। तयार भएको नम्बर प्लेटमध्ये दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेश र कार्यालयमा पठाइसकिएको थियो। बाँकी सबै सामग्री विभागमै रहेको र आगलागीमा नष्ट भएको हो।
विभागले जनाएको छ कि भवन मर्मत गरेर तत्काल सञ्चालन गर्नु सम्भव छैन र सेवाहरू पुनः सुरु गर्न एक–दुई महिना लाग्न सक्ने अनुमान गरिएको छ।
सूचना अधिकारी गणेशमान सिं राईका अनुसार, क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी छ। विभागले आगलागीबाट भएको सम्पूर्ण क्षति मूल्याङ्कनपछि मात्र सेवाहरू नियमित रूपमा सञ्चालन गर्न सकिने जनाएको छ।









प्रतिक्रिया