
काठमाडौं । जेनजीको प्रदर्शनीपछि देशैभर भएको लुटपाट, तोडफोड र आगजनीका क्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीमाथि छानिछानि आक्रमण गरिएको छ । देशकै एकमात्र डलर अर्बपति विनोद चौधरीको निजी घर र कार्यालय लुटपाट पछि आगो लगाएर ध्वस्त पारियो । आधा दर्जनभन्दा बढी सवारीसाधान पूर्णरूपमा जलेर खरानी भए ।
मिनबहादुर गुरुङले बनाएका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरियो भने अन्य आधा दर्जन भाटभाटेनीमा लुटपाट मच्चाइयो ।
चन्द्र ढकालको अगुवाइमा बने पनि आम सर्वसाधारणको लगानी रहेको पर्यटकीयस्थल चन्द्रागिरीमा तोडफोडपछि आगजनी गरियो । ढकालको मौलाकाली केबुलकारको बटम स्टेसन पनि आगो लगाएर ध्वस्त बनाइयो ।
अर्बौं लगानीमा बनेको शंकर ग्रुपको नक्सालस्थित पाँचतारे डिलक्स हिल्टन होटल लुटपाटपछि भएको आगजनीबाट ध्वस्त भयो । उक्त होटल तीन दिनसम्म पनि जलिरहेकाे छ । हाेटलमा आगो लागेको तीन दिनपछि पनि बाहिरबाटै धुँवाको मुस्लो निस्किरहेको देखिन्छ ।
सरकारले अत्यावश्यक सेवा भनेरे घोषणाा गरेकाे दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लैनचौरस्थित मुख्यालयमा आगजनी भएको छ । तर, यही एनसेल र यसकाे डाटा सेवा आपतकाली सन्चार सेवा लिने माध्यम हाे र उसले दिइरहेको छ ।
उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरियो भने ४ वटा गाडी जलाइएकाे छ। उद्योगी सञ्जय गोल्छाको घर पनि जलाएर ध्वस्त पारियो छ ।
बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरेका छन् ।
थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सको शोरुम जलाएर ध्वस्त पारियो । कान्तिपुर पब्लिकेशनको कार्यालय रहेको सेन्ट्रल पार्क जल्यो । सेन्ट्रल पार्कमा रहेको राजेश अग्रवालको आरएमसी ग्रुपको कार्यालयमा क्षति पुग्यो । बैंकका आधादर्जन बढी शाखा र एटीएम बुथमा तोडफोड र लुटपाट भयो ।
रामेश्वर थापाको सिम्रिक एयर, अन्नपूर्ण पोष्टको कार्यालयमा क्षति पुर्याइएको छ भने थापाको काभ्रेस्थित घर पनि प्रदर्शनकारीले आगजनी गरी ध्वस्त बनाइदिएका छन् ।
निजी क्षेत्रका उद्योगी व्यवासायमाथि भएकाे यो आक्रमणले अर्थतन्त्रको सबैभन्दा धेरै योगदान दिने निजी क्षेत्रको मनाेबल कमजाेर बनाएकाे छ । निजी क्षेत्रले बर्षो लगाएर तयार पारेको संरचना, दशकौको व्यवसायिक विरासत र राज्यलाई कर तिरेर दिएकाे सेवालाई जेनजी आन्दोलनका नाममा कमजोर बनाउने काम भएको छ ।
निजी क्षेत्रकाे व्यवसायमाथी भएकाे आक्रमण र आगजनीले सम्बन्धित उद्योगी व्यवसायीलाई पीडा त दियो नै यसमा लगानी गरेकाे बैंक तथा वित्तीय संस्थालाई पनि टाउको दुखाइको विषय बन्न पुगेको छ ।
उद्योग व्यवसायमा भएको लगानी फिर्ता नआउँदा आम सर्वसाधारणको बचत नै जोखिमममा पर्ने हुन्छ । निजी क्षेत्रको लगानीको बाटो बन्द हुन सक्न भने नेपालमा तिनै निजी क्षेत्रले लगानी नगर्दा रोजरी सिर्जना हुन नसक्ने र राज्यले राजस्वसमेत नपाउने अवस्था थप जटिल हुन सक्छ ।
क्यामेराः श्रृष्टी गुरागाईं







प्रतिक्रिया