
एजेन्सी । अस्ट्रियाका अर्थशास्त्री गुन्थर फेहलिंगर–जानले सामाजिक सञ्जाल एक्समा भारतलाई टुक्र्याउनुपर्ने भनी पोस्ट गरेपछि भारत सरकारले उनको खातामा प्रतिबन्ध लगाएको छ । भारतमा उनको पोस्टहरू हेर्न नसकिने भएको छ ।
गुन्थरले विवादास्पद पोस्ट गर्दै भारतलाई टुक्य्राएर उसका छिमेकीहरूमा भूभाग बाँड्नुपर्ने सुझाव दिएका छन् । उनले पोस्ट गरेको काल्पनिक नक्सामा भारतका विभिन्न भाग नेपाल, पाकिस्तान र बंगलादेशको नियन्त्रणमा रहेको र बेग्लै खालिस्तान बनाइएको देखिन्छ । त्यो पोस्ट विवादित भएपछि उनले अनेकौं पोस्ट गरेर लगातार भारत र प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध बयान दिइरहेका छन् ।
मोदीले चीनको थ्यानचिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हिमचिम गरेको भन्दै गुन्थर रिसाएका हुन् । उनले आफ्नो पोस्टमा मोदी रुसको मान्छे भएको समेत लेखेका छन् ।
उनले निरन्तर विवादास्पद पोस्टहरू गरेपछि भारतीय सांसदहरूले विदेश मन्त्रालयलाई यो विषय अस्ट्रिया सरकारसँग उठाउनुपर्ने माग राखेका छन् ।
सन् १९६८ मा अस्ट्रियाको लिन्जमा जन्मेका गुन्थरले पश्चिमी सैन्य गठबन्धन नेटो र युरोपेली संघको विस्तारको पैरवी गर्दै आएका छन् । उनले भिएना युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसमा इन्टरनेशनल बिजनेसको अध्ययन गरेका हुन् ।
यसअघि उनले रुस र ब्राजिल लगायतका मुलुकलाई टुक्र्याएर पश्चिमी साझेदारीलाई बढाउनुपर्ने मत राख्दै आएका छन् । उनले नेटोका प्रतिस्पर्धी मानिने मुलुकहरूका विषयमा उत्तेजक बयान दिँदै आएका छन् ।









प्रतिक्रिया