अनुतिन चार्नविराकुल बने थाइल्यान्डका नयाँ प्रधानमन्त्री

63
Shares

एजेन्सी । थाइल्यान्डको संसद्ले अर्बपति व्यापारी अनुतिन चार्नविराकुललाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ ।

गत साता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई पदमुक्त गर्ने फैसला सुनाएपछि अनुतिन प्रधानमन्त्री बनेका हुन् । शिनावात्राले कम्बोडियासँगको सीमाविवाद व्यवस्थापन गर्ने क्रममा नैतिकता उल्लंघन गरेको आरोप लागेको थियो ।

शिनावात्राको फेउ थाई पार्टीसँग अनुतिनको भुमजईथाई पार्टीले गठबन्धन गरेको थियो । शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग गरेको फोन संवाद सार्वजनिक भएपछि भुमजईथाई पार्टी गठबन्धनबाट अलग्गिएको थियो ।

अनुतिनले संसदमा बहुमत प्राप्त गरे । तर, उनको शासनकाल कत्तिको लामो समयसम्म जान्छ भन्ने टुंगो छैन । थाइल्यान्डको निकट इतिहासमा सेनाले कू गरेर वा अदालतले फैसला सुनाएर सरकारहरू गिर्ने गरेका छन् ।

सन् २००१ देखि थाइल्यान्डको राजनीतिमा प्रभाव जमाइरहेको शिनावात्रा परिवारका लागि अनुतिनको विजय ठूलो धक्का हो । यसअघि शिनावात्रा परिवारबाट थाक्सिन र उनकी बहिनी यिङल प्रधानमन्त्री भइसकेका छन् ।

बिहीवार बेलुका थाक्सिन निजी विमान चढेर थाइल्यान्ड बाहिर गएका छन् ।

शुक्रवार सबेरै उनले सामाजिक सञ्जालमा पोस्ट गरेर आफू स्वास्थ्य उपचारका लागि दुबई गएको बताए । सेप्टेम्बर ९ मा हुने अदालती सुनुवाइमा आफू उपस्थित हुने जानकारी पनि उनले दिए । उक्त सुनुवाइमा उनी दोषी ठहर भए कैद सजाय हुन सक्छ ।