
विराटनगर । भारतले पाँच तहमा रहेको वस्तु तथा सेवा कर (जीएसटी) लाई घटाएर दुई तहमा सीमित गरेपछि नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने उद्योगी–व्यवसायीले प्रतिक्रिया जनाएका छन् ।
भारतको पछिल्लो कर नीतिले नेपालमा दैनिक उपभोग्य वस्तुको चोरी पैठारी बढ्ने र भन्सार नाकाबाट हुने व्यापार ठप्पजस्तै हुने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन् ।
भारतले पहिले १८ र १२ प्रतिशत जीएसटी तोकिएका दैनिक उपभोग्य वस्तुमा अब ५ प्रतिशत मात्रै कायम गरेपछि ती वस्तुको मूल्य भारतीय बजारमा ह्वात्तै घट्ने छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी भारतमा मूल्य घट्दा नेपालमा भने १३ प्रतिशत भ्याट र भन्सार दरका कारण महँगो पर्ने भएकाले चोरी पैठारी थप बढ्ने जोखिम रहेको बताउँछन् ।
भारतको कर दरमा भएको व्यापक हेरफेरले नेपालका उद्योग व्यवसायमा ठूलो असर पार्ने उनी बताउँछन् ।
‘अहिले नै ग्रे मार्केट समानान्तर रूपमा चलिरहेको अवस्थामा भारतीय उत्पादन सस्तो हुँदा अवैध आयात अझ वृद्धि हुनेछ । यसले अन्ततः नेपाली उद्योग, राजस्व संकलन र समग्र अर्थतन्त्रलाई अप्ठ्यारोमा पार्ने राठीको भनाइ छ ।
‘भारत सरकारको नयाँ जीएसटी नीतिले नेपालका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगमाथि ठूलो चुनौती थपिएको छ,’ उनले भने, ‘सरकारले कर नीतिमा सुधार नगरे उद्योगीहरूले उत्पादन बन्द गरेर चोरी पैठारीबाट आएका भारतीय सामान खरिद–बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ ।’
उनका अनुसार भारतबाट आयात हुने कच्चा पदार्थमा केही राहत भए पनि उत्पादन खर्च भारतीय उत्पादनको तुलनामा अझै महँगो हुने भएकाले त्यसको ठूलो अर्थ रहँदैन ।
मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले पनि भारतको नयाँ जीएसटी नीतिले नेपालमा चोरी पैठारी थप बढ्ने प्रतिक्रिया दिएका छन् ।
‘नेपालको भन्सार मूल्याङ्कन र मूल्य अभिवृद्धि करका कारण उपभोग्य वस्तुको मूल्य भारतको तुलनामा बढी पर्छ,’ साहले भने, ‘ यसैबीच भारतीय जीएसटीले नेपाली बजारमा चोरी पैठारीका वस्तु नै हावी हुने अवस्था बनाएको छ ।’
उनका अनुसार सरकारले भन्सार मूल्याङ्कन र भ्याट प्रणालीमा सुधार नगरे मुलुकको वैध व्यापार ठप्प हुने खतरा छ ।
अहिले नै केही वस्तु सस्तो हुँदा समेत चोरी पैठारीले बजार ढाकिरहेको अवस्थामा नयाँ नीतिले सीमावर्ती व्यवसायीलाई झन् संकटमा पार्ने निश्चित भएको साह बताउँछन् ।
भारतले गर्यो करका दरमा हेरफेर
भारतले ५ दर रहेको वस्तु तथा सेवा कर (जीएसटी) लाई २ दरमा झारेको छ । ०, ५, १२, १८ र २८ प्रतितशत रहेको जीएसटीलाई ५ र १८ प्रतिशमा सीमित गरेको हो ।
भारतको ५६औं जीएसटी परिषद् बैठकले कर दरमा ठूलो सुधार गर्दै दुई तहको वस्तु तथा सेवा कर (जीएसटी) दर प्रणाली (५% र १८%) अनुमोदन गरेको छ । नयाँ जीएसटी दर सेप्टेम्बर २२ देखि हुने भएको छ । भारतमा उल्लेखितबाहेक पनि जीएसटीको अन्य विभिन दर थिए ।
नेपालमा जीएसटी जस्तै मूल्य अभिवृद्धि कर कार्यान्वयनमा छ । मूअ कर एकल दर (१३ प्रतिशत) कर प्रणाली हो । देशका निजी क्षेत्रल भ्याटमा बहुदर आवश्यक रहेको भन्दै विभिन्न दरको कर लागु गर्न माग गरिरहेका छन् । तर, भारतले भने सहजताका लागि दर संख्यालाई ५ बाट २ मा झारेको हो ।
यद्यपि, भारतको नयाँ कर दरमा केही वस्तुमा शुल्य जीएसटी लगाउने निर्णय भएको छ भने केहीमा उल्लेखित दरमा छुट दिने कुरा छ ।







प्रतिक्रिया