पोखरामा बन्दै गरेको स्वर्णिम होटलको लागत ३०% ले बढ्यो, मार्चदेखि सञ्चालनमा आउने

476
Shares

काठमाडौं । पर्यटकीय नगरी पोखराको स्वर्णिम होटलको लागत ३० प्रतिशतले बढेको छ । होटलको व्यापार सुरुमा अनुमान गरेको लागतभन्दा अहिले निकै बढेको हो ।

सुरुमा होटलको लागत १ अर्ब ३२ करोड ४० रुपैयाँ अनुमान गरेको थियो । अहिले बढेर १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीले पोखरामा ‘होलिडे इन एक्सप्रेस’ ब्रान्डमा होटल निर्माण गरिरहेको छ । होटलले एमएस इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग व्यवस्थापनका लागि सम्झौता गरेको छ । उक्त कम्पनीले विश्वभर होलिडे इन एक्सप्रेस ब्रान्डको तीनतारे होटल सञ्चालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्डसँग व्यवस्थापनको सम्झौता गरेको होटलले पोखराका ९६ वटा कोठाको सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले आगामी मार्चमा होटल सञ्चालनमा ल्याउने तयारी गरेको हो । सुरुमा कम्पनीले २०२५ को जुनसम्ममा होटल सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

होटलको लागत बढेसँगै कम्पनीले कर्जा पनि बढाएको छ । कम्पनीले सुरुमा ९९ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको थियो । अहिले कम्पनीले रिभाइज गरेर दीर्घकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।