हेल्थ एन्ड हाइजिन प्रोडक्टले ९ महिनामा गर्‍यो ७८ करोडको व्यापार


काठमाडौं । हेल्थ एन्ड हाइजिन प्रोडक्ट प्रालिले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ७८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै कम्पनीले सन् २०२३ मा ६७ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले हाइजिन प्रोडक्ट स्यानिटरी न्याप्किन, डाइपर, वाइप र पेन्टी लाइनर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर भारतमा पनि उत्पादित सामग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा दुई जनाको स्वामित्व रहेको छ । सुमन राठी र हेमन्त राठीको बराबर स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८१ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको हो ।

बाबा ग्रुपद्वारा सञ्चालित कम्पनीले ३० प्रतिशत आम्दानी निर्यातबाट गरेको उल्लेख गरेको छ । सन् २०२४ मा ३४ प्रतिशत आम्दानी निर्यातबाट गरेको थियो । कम्पनीले सन् २०२० बाट प्याड उत्पादन सुरु गरेको थियो । त्यसपछि विस्तारै अन्य सामग्रीहरु उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।