अमेरिकी डलरको दबदबाबीच युआनलाई बलियो बनाउने चीनको रणनीति

स्टेबलक्वाइनको प्रयोगलाई अनुमति देला ?

525
Shares

एजेन्सी । चीनले पहिलो पटक चिनियाँ मुद्रा युआन-समर्थित स्टेबलक्वाइनको प्रयोगलाई अनुमति दिने विचार गरिरहेको छ । यसले विश्वव्यापी रूपमा आफ्नै मुद्राको प्रयोगलाई बढावा दिनेछ । यो कदम डिजिटल सम्पत्तिप्रति चीनको अघिल्लो धारणा उल्ट्याउने ठूलो संकेत दिन्छ।

चीनको मन्त्रिपरिषद् (स्टेट काउन्सिल) ले यस महिनाको अन्त्यसम्ममा एक रोडम्याप समीक्षा गर्ने र सम्भवतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले विश्वभर युआनको प्रयोगलाई विस्तार गर्ने मात्र नभई अमेरिकाले अघि बढाएको स्टेबलक्वाइन रणनीति पनि समेट्ने स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

उक्त योजनामा विश्व बजारमा चिनियाँ मुद्राको प्रयोगका लक्ष्य र घरेलु नियामकहरूको जिम्मेवारीसमेत समावेश हुनेछ । साथै, रोडम्यापमा जोखिम व्यवस्थापनका दिशानिर्देशहरू पनि हुनेछन् ।

मुलुकको वरिष्ठ नेतृत्वले यसै महिनाको अन्त्यसम्मै एक अध्ययन सत्र बोलाउने अपेक्षा गरिएको छ, जसमा युआन अन्तर्राष्ट्रियकरण र स्टेबलक्वाइन जस्ता विश्वव्यापी रूपमा बढ्दो प्रवृत्तिमा केन्द्रित गरिनेछ ।

त्यस्तो बैठकमा वरिष्ठ नेताहरूले स्टेबलक्वाइन सम्बन्धी धारणा प्रष्ट पार्ने र यसको व्यवसायिक प्रयोग तथा विकासका सीमा निर्धारण गर्ने सम्भावना छ ।

चीनले स्टेबलक्वाइन प्रयोग गर्ने योजनालाई अनुमोदन गरेमा, यो डिजिटल सम्पत्तिप्रति चीनको दृष्टिकोणमा ठूलो परिवर्तन हुनेछ । चीनले २०२१ मा वित्तीय प्रणालीको स्थिरताप्रति चिन्ता व्यक्त गर्दै क्रिप्टोकरेन्सी ट्रेडिङ र माइनिङ प्रतिबन्ध लगाएको थियो ।

चीनले लामो समयदेखि युआनलाई अमेरिकी डलर वा युरोजस्तै विश्वव्यापी मुद्रा बनाउन चाहेको छ । तर, कडाइका साथ लागू गरिएका पुँजी नियन्त्रण र हरेक वर्षको ट्रिलियन डलरभन्दा बढीको व्यापार अधिशेषले त्यस लक्ष्यलाई अवरुद्ध गरेको छ।

यिनै प्रतिबन्धहरू स्टेबलक्वाइन विकासको मुख्य अवरोध बन्ने सम्भावना छ ।

स्टेबलक्वाइन भनेको एउटा क्रिप्टोकरेन्सी हो, जसलाई स्थिर मूल्यमा राख्न डिजाइन गरिएको हुन्छ । प्रायः यसलाई अमेरिकी डलरजस्ता फियाट मुद्रासँग बाँधिन्छ र क्रिप्टो व्यापारीहरूले विभिन्न टोकनबीच कोष सार्न प्रयोग गर्छन्।

एसडब्लुएफटी अनुसार, जून महिनामा विश्वव्यापी भुक्तानी मुद्राका रूपमा युआनको हिस्सा घटेर २.८८% मा पुगेको छ, जुन पछिल्ला दुई वर्षको सबैभन्दा न्यून स्तर हो। यसको विपरीत, अमेरिकी डलरले ४७.१९% बजार हिस्सा लिएको छ ।

चीनले पुँजीको आवागमन नियन्त्रण गर्न कडा पुँजी नियन्त्रण राखेको छ, तर केही ‘कनेक्ट स्किम’ मार्फत हङकङ जस्ता प्रमुख बजारमा पुँजी प्रयोग गर्न अनुमति दिएको छ ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा आफ्नो पदभार ग्रहण गरेपछि केही दिनमै स्टेबलक्वाइनलाई समर्थन गरेका थिए र डलरसँग बाँधिएका क्रिप्टोकरेन्सीलाई वैधता दिन सहयोग गर्ने नियामक ढाँचा तयार गर्दैछन् ।

स्टेबलक्वाइनको आधारभूत ब्लकचेन प्रविधिले तत्काल, सीमा नाघ्ने र चौबीसै घण्टा कम लागतमा रकम हस्तान्तरण गर्न सक्ने भएकाले यसले परम्परागत भुक्तानी प्रणालीलाई चुनौती दिन सक्छ ।

स्रोतहरूका अनुसार, वित्तीय नवप्रवर्तन – विशेषगरी स्टेबलक्वाइनलाई अमेरिकन डलरसँग बाँधिएका क्रिप्टोकरेन्सीहरूको बढ्दो प्रभावबीच युआन अन्तर्राष्ट्रियकरणको आशाजनक उपकरणका रूपमा बेइजिङले हेरेको छ ।

योजना सम्बन्धी विस्तृत विवरण आउँदो हप्तामा सार्वजनिक हुनेछ भन्ने अपेक्षा गरिएको छ। यसको कार्यान्वयनको जिम्मेवारी चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना सहितका नियामक संस्थालाई दिइने स्रोतहरूले बताएका छन् ।

मिडियासँग बोल्ने अनुमति नहुँदा स्रोतहरूले आफ्नो परिचय खुलाउन अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

स्टेट काउन्सिल इन्फर्मेसन अफिसले रायटर्सको टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया जनाएन ।

ठूलो परिवर्तन

अमेरिकी डलरसँग बाँधिएका स्टेबलक्वाइनले हाल बजारमा ९९% भन्दा बढी हिस्सा ओगटेका छन् ।

दक्षिण कोरियाले कम्पनीहरूलाई वनआधारित स्टेबलक्वाइन ल्याउन अनुमति दिने र आवश्यक पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएको छ भने जापानमा पनि यस्तै पहलहरू भइरहेका छन् ।

यो नयाँ पहल अमेरिकासँग बढ्दो भूराजनीतिक तनाव र चिनियाँ निर्यातकर्ताहरूले डलर-समर्थित स्टेबलक्वाइनको बढ्दो प्रयोगको पृष्ठभूमिमा आएको हो ।

बेइजिङको यो नयाँ योजना शाङ्घाई नियामकले गत महिनामा स्थानीय सरकारी अधिकारीहरूसँग स्टेबलक्वाइन र डिजिटल मुद्राबारे रणनीतिक प्रतिक्रिया छलफल गरेको बैठकको केही समयपछि आएको हो ।

हालैको एक अन्तर्वार्तामा, पीबिओसी सल्लाहकार हुआंग यिपिङले हङकङमा युआन स्टेबलक्वाइन सम्भावना भएको बताएका थिए।

यसैबीच, हङकङको प्रतिक्षित स्टेबलक्वाइन अध्यादेश अगस्ट १ देखि लागू भएको छ, जसले यसलाई विश्वमै फियाट समर्थित स्टेबलक्वाइन नियमन गर्ने पहिलो बजारमध्ये एक बनाएको छ ।

चीनको व्यवसायिक केन्द्र शाङ्घाईले डिजिटल युआनका लागि अन्तर्राष्ट्रिय सञ्चालन केन्द्र स्थापना गर्ने तयारी पनि गरिरहेको छ।

स्रोतहरूका अनुसार, हङकङ र शाङ्घाईलाई यो नयाँ योजनाको स्थानीय कार्यान्वयन छिटो गर्ने प्रमुख सहरका रूपमा प्राथमिकता दिइनेछ ।

स्रोतहरूका अनुसार, चीनले अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तिआनजिनमा हुने शाङ्घाई कोअपरेसन अर्गनाइजेशन शिखर सम्मेलनमा केही मुलुकहरूसँग युआन र स्टेबलक्वाइनलाई सीमा-पार व्यापार र भुक्तानीमा प्रयोग गर्ने विषयमा छलफल गर्नेछ।

क्रिप्टो तथ्यांक प्रदायक कोइनजिको अनुसार हाल विश्वव्यापी स्टेबलक्वाइन बजार करिब २४७ अर्ब अमेरिकी डलर बराबरको छ । तर, स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो बजार २०२८ सम्ममा २ ट्रिलियन अमेरिकी डलरमा पुग्न सक्ने अनुमान गरेको छ ।