
काठमाडौं । आइतवार (अगस्ट १७) मा इजरायलभरि ठूलो विरोध प्रदर्शन भएको छ । प्यालेस्टाइनी समूह हमासले गाजामा बन्दी बनाएर राखेका मानिसको रिहाइका लागि बेन्जामिन नेतान्याहु सरकारले सम्झौता गर्नुपर्ने मागसहित इजरायलीहरूले प्रदर्शन गरेका हुन् ।
नेतान्याहु सरकारले गाजा शहरमा सैन्य कारवाही चलाएर बन्दीहरूलाई रिहा गराउनका लागि स्वीकृति दिएलगत्तै विरोध प्रदर्शन चर्किएको हो । गाजामा लगातार सैन्य आक्रमण गरिरहँदा बन्दीहरूलाई जीवितै अवस्थामा उद्धार गर्न नसकिने सम्भावना रहेको विरोधीहरूको आशंका छ । बन्दीहरूको जीवन सुरक्षित राख्ने हो भने अरुचिकर सम्झौता समेत गर्न सरकार पछि हट्नु नहुने प्रदर्शनकारीहरूको भनाइ छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर १२ सयभन्दा बढी मानिसको हत्या गरेको थियो भने नेपालका विपिन जोशी सहित २५१ जनाको अपहरण गरेको थियो
तर, प्रधानमन्त्री नेतान्याहु त्यस भनाइलाई अस्वीकार गर्छन् । उनका अनुसार, अहिले जनताले दिएको दबाबले बन्दीहरूको हित गर्ने भन्दा पनि हमासको अडानलाई बलियो बनाउँछ । हमासलाई पूर्ण रूपमा पराजित गर्नका लागि सैन्य कारवाही चलाउन लागेको र त्यसलाई अहिले रोक्दा हमासले भविष्यमा पनि आक्रमणका लागि हौसला पाउने उनको तर्क छ ।
इजरायल र हमासबीच युद्धविरामका लागि भइरहेको वार्ता गत जुलाई महिनादेखि नै अवरुद्ध हुँदा पनि समस्या बल्झिएको छ । सफलताको सुनिश्चितता नभएको सैन्य कारवाही र हमाससँग इजरायल सरकारले गर्न नसकेको वार्ताका कारण इजरायली जनता अधैर्य हुन थालेको देखिन्छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर १२ सयभन्दा बढी मानिसको हत्या गरेको थियो भने नेपालका विपिन जोशी सहित २५१ जनाको अपहरण गरेको थियो । अपहरण गरिएका ती व्यक्तिहरूमध्ये १४८ जना छुटेका छन् । १४० जनालाई हमासले छोडेको र ८ जनालाई इजरायली सेनाले उद्धार गरेको हो । कतिपयको शव इजरायलले बरामद गरेको छ ।
अहिले हमासको नियन्त्रणमा ५० जना बन्दीहरू रहेको बताइन्छ, जसमध्ये २० जना जति जीवित रहेको अनुमान गरिन्छ ।
बन्दीहरूका परिवारले यसअघिका सम्झौताहरूबाटै प्रियजनको उद्धार हुन सक्थ्यो तर त्यसका लागि इजरायल सरकारले धेरै चासो नदिएको आरोप लगाइरहेका छन् । त्यसमाथि बन्दीहरूको लाश इजरायल डिफेन्स फोर्सेसले बरामद गर्दा आफन्तहरूको पीडा झनै चर्किने गरेको छ । विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब दिनका लागि उनकी आमा र बहिनी पनि इजरायल पुगेका छन् ।
युद्ध सुरु भएको २२ महिना बित्न लाग्दा इजरायल सरकारले नयाँ सैन्य कारवाहीको घोषणा र गाजा शहरबाट मानिसहरूलाई हटाउने काम गर्दा आलोचकहरूले त्यसको सफलतामा शंका गरेका छन् । इजरायली सेनाप्रमुख इयाल जमिर समेत गाजा शहरमाथिको आक्रमण रणनीतिक रूपमा उचित नरहेको तर्क गर्छन् । त्यसले पनि सर्वसाधारण इजरायलीहरूलाई विरोध प्रदर्शन गर्नका लागि प्रेरित गरेको देखिन्छ ।
बन्दीहरूको रिहाइका लागि पीडित परिवारहरूले सुरुदेखि नै पैरवी गर्दै आइरहेका छन् । हमासले गरेको आक्रमणको २४ घन्टाभित्रै होस्टेजेज एन्ड मिसिङ फेमिलिज फोरम गठन गरेर बन्दीको रिहाइका लागि परिवारजनले पैरवी थालिसकेका थिए । उनीहरूले इजरायली सेनाको केन्द्रीय कार्यालय नजिक तेल अभिभ म्युजियम अफ आर्टको भवनबाहिर धर्ना दिन थालेका थिए । युद्ध लम्बिँदै जाँदा उक्त स्थानलाई होस्टेजेज स्क्वेयर भन्न थालियो र त्यहाँ राति जुलुस निकाल्ने, बन्दीहरूको तस्बिर राखेर प्रदर्शन गर्ने, बन्दी परिवार तथा छुटेका बन्दीहरूले सम्बोधन गर्ने लगायतका कार्यक्रम हुने गर्थे ।
नेतान्याहुविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ र दोषी ठहर भएमा कठोर सजाय पाउने सुनिश्चित छ । त्यसबाट बच्नका लागि उनी न्यायपालिकालाई कमजोर बनाउने प्रयास गर्नुका साथै युद्ध लम्ब्याएर इजरायलका राष्ट्रिय समस्याबाट जनताको ध्यान भड्काउन पनि खोजिरहेका छन् । त्यो कुरा बुझेका मानिसहरूले प्रदर्शन गरिरहेका हुन्
समयानुक्रममा बन्दी रिहाइका पैरवीकर्ताहरूसँग युद्ध सुरु हुनुभन्दा अघि इजरायलमा न्यायपालिकाको स्वतन्त्रता हरण गर्न नपाइने भन्दै विरोध प्रदर्शन गरिरहेका अभियन्ताहरू पनि मिसिन थाले । न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्न माग गर्ने अभियन्ताहरू काप्लान स्ट्रीट नामक स्थानमा प्रत्येक शनिवार राति प्रदर्शन गर्थे र पछि उनीहरू बन्दीका परिवारसँग मिसिएर प्रदर्शन गर्न थाले । यस प्रदर्शनमा इजरायलका सबै राजनीतिक धारका प्रतिनिधिहरू सहभागी छन् ।
युद्धविराम गरेर बन्दीहरूलाई सुरक्षित रूपमा रिहाइ गर्नुपर्ने माग सहित लगातार प्रदर्शन भइरहेका छन् । बन्दी परिवारले हप्तैपिच्छे जुलुस निकाल्ने, राजमार्गमा यातायात अवरुद्ध गर्ने र राति मैनबत्ती बालेर प्रदर्शन गर्ने काम जारी राखेका थिए । तत्काल सम्झौता गर (डील नाउ) नाराका साथ उनीहरूले प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारी र प्रहरीबीच यदाकदा झडप पनि हुने गरेको थियो । तर, अविचलित रूपमा प्रदर्शनकारीहरू धर्नामा बसिरहेका थिए ।
उनीहरूलाई समाजका सबै तप्काले साथ दिन थालेका थिए । विभिन्न प्रविधि कम्पनी, रेस्टुरेन्ट, विश्वविद्यालय र स्थानीय निकायले समेत कर्मचारी र विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुनका लागि अनुमति दिएका थिए । इजरायलको शक्तिशाली श्रमिक संगठन हिस्तादरुतले पनि बन्दी परिवारहरूसँग सहानुभूति राखेको थियो ।
यस युद्धलाई लम्ब्याइरहेर नेतान्याहुले आफ्नो कुर्सी जोगाउन खोजेको अनुभव इजरायलीहरूले गरिरहेका छन् ।
नेतान्याहुविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ र दोषी ठहर भएमा कठोर सजाय पाउने सुनिश्चित छ । त्यसबाट बच्नका लागि उनी न्यायपालिकालाई कमजोर बनाउने प्रयास गर्नुका साथै युद्ध लम्ब्याएर इजरायलका राष्ट्रिय समस्याबाट जनताको ध्यान भड्काउन पनि खोजिरहेका छन् । त्यो कुरा बुझेका मानिसहरूले प्रदर्शन गरिरहेका हुन् ।
त्यसका साथै इजरायलमाथि देखिएको सुरक्षा जोखिमले पनि बन्दी परिवारलाई छिटो सम्झौता गरेर बन्दी रिहाइ गर्नुपर्ने माग राख्न प्रेरित गरेको हो ।
इरानसँग इजरायलको युद्ध हुँदा इजरायलका प्रमुख शहरहरूमा इरानी क्षेप्यास्त्र आइपुगेर क्षति पुगेको र यमनका हूतीहरूले पनि बारम्बार इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरिरहेको स्थितिले गाजामा भइरहेको युद्ध क्षेत्रीय युद्ध बनिसकेको अनुभूति इजरायलीहरूलाई गराएको छ ।
वास्तवमा इजरायलले गाजामा नरसंहारका रूपमा करिब ६२ हजार मानिसको हत्या गर्नुका साथै गाजावासीहरूलाई भोकमरीको चपेटामा पारेकैले गर्दा हूतीहरूले इजरायलमाथि आक्रमण गरेका हुन् । प्रत्येकपटक इजरायलमा सुरक्षित स्थानमा जान सन्देश दिने साइरन बज्दा बन्दी रिहाइ अभियन्ताहरूलाई तत्काल सम्झौता गर्नका लागि सरकारलाई दबाब दिन प्रेरणा मिलेको देखिन्छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन सरकार उग्रदक्षिणपन्थी दलहरूको सहयोगमा बनेको हो । ती उग्रदक्षिणपन्थीहरू हमासलाई कुनै पनि छुट दिन नहुने र त्यसलाई निमिट्यान्न पार्नुपर्ने माग राख्छन् ।
नेतान्याहु पनि सैन्य दबाब बढाउँदा इजरायललाई अनुकूल हुने सम्झौता गर्न सकिने बताउँछन् । सबै ५० जना बन्दी रिहा गर्नुपर्ने, हमासको पूर्ण निःशस्त्रीकरण गर्नुका साथै हमासका नेताहरूलाई निर्वासित गर्नुपर्ने र गाजापट्टिलाई गैरसैन्यीकरण गर्नुपर्ने उनको शर्त रहिआएको छ । तर, आलोचकहरू नेतान्याहुले पूरा गर्न कठिन हुने शर्तहरू राखेको र सम्झौताका लागि इमान्दार प्रयास नगरेको आरोप लगाउँछन् ।
विरोध प्रदर्शन गरिरहेकाहरू चाहिँ सैन्य कारवाहीको विपरीत तर्क राख्छन् । इजरायलले बन्दीहरूको सुरक्षित रिहाइका लागि विश्वसनीय युद्धविराम प्रस्ताव राख्दा हमासले सम्झौताका लागि लचिलोपन देखाउने गरेको उनीहरूको भनाइ छ । तर, इजरायलले हमासविरुद्ध सैन्य आक्रमण बढाउँदा हमासले बन्दीहरूलाई झनै दुर्गम भूमिगत स्थानहरूमा लुकाउने गरेको उनीहरू बताउँछन् । विगतमा पनि युद्धविराम सम्झौताले गर्दा नै बन्दीहरूलाई जीवितै उद्धार गर्न सकिएको बन्दी परिवारको भनाइ छ । सन् २०२३ को नोभेम्बरमा भएको छोटो युद्धविराममा र अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि सन् २०२५ को जनवरी महिनामा भएको युद्धविराममा गरी बन्दीहरू रिहा भएको इतिहासलाई उनीहरू स्मरण गराउँछन् ।
इजरायलका प्रधानमन्त्री नेतान्याहु हमासमाथि सैन्य दबाब बढाउनुपर्ने पक्षमा रहँदा एवं हमासले चाहिँ युद्ध अन्त्य गरेर इजरायली सैनिकहरू गाजाबाट पछि हट्नुपर्ने माग गरिरहेको अवस्था कायम हुँदा समस्या बल्झिरहेको हो । यस्तो अवस्थामा शक्तिराष्ट्रहरूले युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने र नेतान्याहु सरकारलाई सम्झौताका लागि जनस्तरमा दबाब दिने काम जारी राख्नुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ ।
यस समस्याको समाधानका लागि इजरायलमाथि प्रभाव राख्न सक्ने अमेरिका जस्तो शक्तिले हस्तक्षेप गर्नुपर्ने विश्लेषकहरू बताउँछन् । हमासलाई लचिलो हुनका लागि इजिप्ट र कतार जस्ता शक्तिले प्रयास गरिरहँदा इजरायललाई सम्झौताका लागि अमेरिकाले प्रेरित गर्नु जरुरी छ । यी शक्तिराष्ट्रहरूले सम्झौता उल्लंघन गर्ने पक्षलाई दण्डित गरिने लिखित ग्यारेन्टी दिनुपर्छ । त्यसका साथै गाजामा खाद्यान्न तथा औषधि सहायताको प्रवाहलाई कायम राख्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ ।
नेतान्याहुलाई उग्रदक्षिणपन्थी गठबन्धन साझेदारले सम्झौताबाट रोकिरहेको अवस्थामा सबै दल समावेश गरिएको उच्चस्तरीय संयन्त्र बनाएर सम्झौताका लागि पहल गर्ने अर्को प्रभावकारी उपाय हुन सक्ने विश्लेषकहरूको भनाइ छ । त्यस संयन्त्रले चरणबद्ध रूपमा युद्धविराम गराएर हमासका बन्दीहरूसँग प्यालेस्टाइनी कैदीहरूको साटासाट गर्दा विश्वासको वातावरण कायम हुन सक्छ । त्यस बन्दी रिहाइ प्रक्रियालाई अमेरिका, कतार, इजिप्ट लगायतका मुलुकहरूले निगरानी गर्न सक्छन् ।
इजरायल सरकार र हमासले आआफ्नै अडान कायम राख्दा बन्दीहरू बिरामी पर्ने र मर्न पनि सक्ने सम्भावना छ । दुई साताअघि हमासले हाडछाला मात्र देखिएका इजरायली बन्दी इव्यातार डेभिडको तस्बिर सार्वजनिक गरेको थियो । अन्य बन्दीहरूको हालत पनि त्यस्तै हुन सक्छ । त्यसमाथि इजरायलले गाजा शहरमा सैन्य कारवाही चलाएमा हमासले बन्दीहरूलाई थप दुर्गम स्थानमा लुकाउन सक्छ र रिहाइ प्रक्रिया झन् जटिल बन्छ । त्यसैले इजरायलमा प्रदर्शनकारीहरूले सम्झौतामा जोड दिइरहेका हुन् ।
तर, बेन्जामिन नेतान्याहुले प्रदर्शनकारीहरूको कुरा सुन्ने सम्भावना कमै छ । उनले हमासविरुद्धको सैन्य कारवाहीलाई अघि बढाउने देखिन्छ । त्यसले ल्याउने परिणाम सुखद हुने छैन ।








प्रतिक्रिया