
काठमाडौं । बिरामीको उपचारमा गम्भीर त्रुटी गरेको अभियोगमा उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पतालबाट ५७ लाख १७ हजार रुपैयाँ पीडितको नाममा क्षतिपूर्ति भराउने फैसला गरेको छ।
उपभोक्ता अदालतले पीडित वर्षा भण्डारीलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको हो । यो रकममध्ये ४० लाख ३ हजार ३ सय रुपैयाँ उपचारमा लापरबाही गर्ने ग्राण्डी सिटी अस्पतालका चिकित्सक डा.सञ्जिव त्रिपाठीबाट र बाँकी १७ लाख १५ हजार ७ सय रुपैयाँ ग्राण्डी सिटी अस्पतालबाट भराउन अदालतले असार ५ गते फैसला गरेको हो । फैसलाको पूर्ण पाठ साउन २२ गते सार्वजनिक भएको छ ।
‘अस्पतालले सेवाग्राहीलाई दिनुपर्ने गुणस्तरीय सेवा प्रदान नगरेका कारण बादी (वर्षा भण्डारी) लाई पर्न गएको शारीरिक तथा मानसिक पीडा, निजको उमेर, निजले गर्न सक्ने जीविकोपार्जनमा पर्न गएको असरलगायतका आर्थिक तथा गैरआर्थिक हानी नोक्सानी समेतलाई विचार गरी प्रतिवादीहरुबाट उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५१ र ५२ अनुसार वादी वर्षा भण्डारीलाई ५७ लाख १९ हजार रुपैयाँ दिलाई भराई दिने ठहर्छ,’ उपभोक्ता अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ ।
‘वादीको कमजोर छालाको कारण लुज भएको छाला आफ्नो आकारमा नआएको अस्पतालको भनाइ पुष्टि हुन नसकेको र लिपोसक्सनपछि वादीको शरीरमा हुनुपर्ने सुधारको साटो दाहिने तर्फको जाँघमा मासुको डल्ला झुण्डिई झन विकृत रुपमा परिणत भएको अवस्थामा बिरामीलाई जानकारी बिना बढी मात्रामा बोसो झिकिएकाले उक्त कार्यलाई चिकित्सकीय लापरवाहीको रुपमा मान्न सकिनेछ’, उपभोक्ता अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ,‘पीडितको दाहिने तथा देब्रे जाँघलगायतका शल्यक्रिया गरिएका शरीरका अंगका तस्विरहरु समेतका तथ्य प्रमाणबाट नै चिकित्सकले शल्यक्रियामा होसियारी नगरी त्रुटी भई हेरचाहको कर्तव्य उल्लंघन गरेको अवस्था पुष्टि हुन आएको देखियो ।’
न्यायाधीश रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
इजलासले उपचार पद्धति सही रहेको भए पनि उपचार गर्दा भएका असावधानीका कारण उत्पन्न परिस्थितिलाई अनदेखा गरि उपचार पद्धति सही रहेको भन्ने आधारमा मात्र चिकित्सकीय लापरबाही नहुने भनि मान्नु विवेकसम्मत हुने नदेखिएको ठहर गरेको छ ।
फैसलामा भनिएको छ,’योग्य चितकित्सकद्वारा आफ्नो क्षमताको पूर्ण सदुपयोग गरी उपचार गर्नु चिकित्सकको कर्तव्य तथा नैतिकता हुन्छ । चिकित्सकले आफ्नो कर्तव्यको पूर्ण रुपमा पालना नगरको कारणबाट कसैको स्वास्थ्यमा प्रतिकूलता सिर्जना हुन आउँछ भने त्यसको जिम्मेवारी लिनु सम्बन्धित चिकित्सकको दायित्व हुन्छ । चिकित्सक मानिसको जीवन तथा शरीरसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले अन्य पेशामा जस्तो लापरबाहीबाट सिर्जित दायित्वलाई कम आँक्न मिल्दैन । चिकित्सकलाई लापरबाही गर्ने छुट हुँदैन ।’
यस्तो छ घटना
पछिल्लो १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी २८ वर्षीय वर्षा भण्डारी ब्युटी एण्ड डर्मल थेरापिस्टका साथै प्लस साइज मोडेलको रुपमा कार्यरत थिइन् । सुनसरीको धरान उपमहानगरपालिका घर भएकी उनी काठमाडौं महानगरपालिका ४ का बासिन्दा हुन्।
नेपालमा मोडलिङ र फोटोसुटको प्रस्ताव आएपछि उनी अघिल्लो वर्ष नेपाल फर्किएकी थिइन् । पेशागत उन्नतिको लागि दुवै जाँघ (थाई) को आकार मिलाउने उद्देश्यले उनले नेपालमै लाइपोसेक्सन गर्ने निधो गरिन् ।
लाइपोसेक्सन भनेको एक प्रकारको शल्यक्रिया हो । यसमा पेट, कुम, जाँघ, नितम्व, हात वा घाँटीजस्ता शरीरका विशेष भागहरुबाट बोसो हटाउन सक्सन (चुस्ने) प्रविधि प्रयोग गरिन्छ । लाइपोसेक्सनले यस्ता भागहरुलाई आकार दिन सहयोग गर्छ ।
नेपाल आइपुगेकी भण्डारीले जमलस्थित ग्राण्डी सिटी अस्पतालका चिकित्सक डा सञ्जीव त्रिपाठीसँग परामर्श लिएकी थिइन् । डा. त्रिपाठीको आकर्षक विज्ञापन, अनुभव र योग्यताको आधारमा भण्डारी विश्वासका साथ उनीबाट सर्जरी गराउने निर्णयमा पुगेकी थिइन्।
उपचारका क्रममा चिकित्सकले छाला लुज नहुने, २ लिटर मात्रै बोसो निकाल्ने आश्वासन दिएका थिए ।
‘तर अपरेशनको क्रममा ४ लिटर बोसो निकालिएको, तोकिएकोभन्दा दोब्बर बढी समय लागेको, परिवारलाई जानकारी नदिएको र सर्जरीपछि दुवै जाँघ सुन्निएको तथा दुखिरहने समस्या यथावतै छ,’ इजलास समक्ष बयानमा भण्डारीले भनेकी छिन्, ‘पहिलो सर्जरीपछि जाँघको आकार असामान, छाला खुकुलो, खत, गाँठा, बोसो थैली झुण्डिएको समस्या देखियो ।’
उनका अनुसार चिकित्सकको सल्लाहमा देखापरेको यो समस्या समाधान गर्न दोस्रो पटक मिनी थाई लिफ्ट सर्जरी पनि गरिएको थियो । यो कार्यमा अन्य दुई चिकित्सक पनि सहभागी भएका थिए ।
ति दुई चिकित्सको परिचय, योग्यता र सहमतिबिना दोस्रो पटकको मिनी थाई लिफ्ट सर्जरीमा सहभागी गराइएको थियो । दोस्रो पटकको मिनी थाई लिफ्ट सर्जरीपछि जाँचमा जे र वाई आकारमा घाउको डाम, घाउ, छाला मर्ने जस्ता समस्या भेटिएको थियो ।
चिकित्सकले सर्जरीपछिको जोखिम, सम्भावित जटिलता र आवश्यक प्रविधि(लेजर असिस्टेड) को बारेमा सही जानकारी नदिएको, योग्यता र अनुभवमा भ्रम सिर्जना गरेको, सर्जरीपछिका समस्या समाधानमा चासो नदेखाएको र अस्पताल प्रशासनले समेत गम्भीरतापूर्वक नलिएको भण्डारीको भनाइ छ ।
उपचारको क्रममा आफ्नो जाँघ असामान, छाला लुज, खत, गाँठा, बोसो झुण्डिएको, नितम्वको आकार बिग्रिएको, शरीर कुरुप भएको, दीर्घकालीन दुखाई, आत्मविश्वासमा गिरावट र विदेशमा उपचार गर्नुपर्ने अवस्था आएको भन्दै भण्डारीले चिकित्सक र अस्पतालको चरम लापरबाही, गलत सूचना तथा गैरजिम्मेवारी व्यवहारले आफूलाई परेको शारीरिक र मानसिक क्षति र उपचारपछिको समस्या समाधानमा लाग्ने खर्चसमेत मध्यनजर गरी ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै २०८१ चैत ११ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् ।








प्रतिक्रिया