खुद नाफा ७%ले बढ्दा पनि सानिमा बैंकको लाभांश क्षमता दोब्बर, २०% वितरण गर्न सक्ने

1.2k
Shares

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने देखिएको छ । बैंकले सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत छ, जुन अघिल्लो आवको भन्दा करिब दोब्बर हो ।

अघिल्लो आवबाट बैंकले ५.२६ प्रतिशतमात्र लाभांश दिएको थियो जबकि लाभांश क्षमता १०.६६ प्रतिशत थियो ।

बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ७ प्रतिशत बढी नाफा गरे तापनि लाभांश क्षमता भने दोब्बर बनेको हो ।

सानिमाले गत आवमा कुल २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ थियो ।

नाफामा सामान्य सुधार गर्दा पनि सञ्चित नाफामा उच्च सुधार आउनुको कारण हो, रिकभरी । बैंकले बक्यौता ब्याज उठाएर नियामकीय जगेडाबाट ३३ करोड ५५ लाख रुपैयाँ सञ्चित नाफामा ट्रान्स्फर गरेको छ । अघिल्लो आवमा बक्यौता ब्याज बढेर करिब १४ करोड रुपैयाँ नियामकीय जगेडामा राख्नुपरेको थियो ।

यद्यपि बैंकको गैरबैंकिङ सम्पत्ति बढेर त्यसवापत ७९ लाख रुपैयाँ नियामकीय जगेडामा छुट्याउनु परेको छ ।

यसरी बैंकले गत आवको मात्र वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी छ । गत आवमा क्षमताका आधामात्र लाभांश वितरण गर्दा यो वर्ष बैंकको नाफा वितरण क्षमता उच्च देखिएको हो ।

सानिमाको नाफामा सामान्य सुधार आउनुको कारण आम्दानी वृद्धि नै हो । बैंकले ६ अर्ब ३५ करोड खुद ब्याज आम्दानी तथा १ अर्ब १९ करोड फि एन्ड कमिसन आम्दानी गरेको छ । नोक्सानी व्यवस्थावापत १ अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । खर्च सामान्य दरमा बढे तापनि आम्दानीमा रहेको सुधार र अघिल्लो आवको भन्दा सामान्य धेरै प्रोभिजनले बैंकको नाफा बढेको हो । अघिल्लो आव बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड, फि एन्ड कमिसन आम्दानी १ अर्ब २ करोड र प्रोभिजन १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

नाफा सामान्य दरले बढ्दा बैंकको प्रतिसेयर आम्दानीमा सामान्य दरले नै सुधार आएर १८ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

२०८२ को असार मसान्तको विवरण अनुसार बैंकको प्राथमिक पुँजी अनुपात ९.८६ प्रतिशत, पुँजीकोष अनुपात १३.०१ प्रतिशत, कुल निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, खुद निष्क्रिय कर्जा अनुपात १.२१ प्रतिशत, ब्याजदर स्प्रेड ३.६८ प्रतिशत, आरओई ११.७३ प्रतिशत रहेको छ ।

अघिल्लो आव अन्त्यको तुलनामा बैंकको प्राथमिक पुँजी अनुपातमा सुधार आएको हो भने निष्क्रिय कर्जा भारी मात्राले बढेको देखिन्छ । यसैगरी स्प्रेड दरमा पनि कमी आएको छ ।

निष्क्रिय कर्जा वृद्धि र स्प्रेडमा कमी आउँदा पनि बैंकले आम्दानीसँगै नाफा बढाउन सफल भएको छ । एक वर्षको अवधिमा बैंकले कर्जा प्रवाह १७ अर्बले बढाएर १ खर्ब ७६ अर्ब र निक्षेप २७ अर्बले वृद्धि गरेर २ खर्ब २४ अर्ब रुपैयाँ पुर्याएको छ ।

असार मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा र पीई रेसियो १९.८० कायम भएको छ ।

Skip This