कैलालीमा चारतारे आफ्नो घर टेम्पल रिसोर्ट बन्दै, लगानी कति ?

1.4k
Shares

काठमाडौं । कैलाली जिल्लाको धनगढीमा साढे ८२ करोड रुपैयाँ लगानीमा चारतारे रिसोर्ट बन्ने भएको छ । आफ्नो घर टेम्पल रिसोर्ट प्रालिले ८२ करोड ४० लाख रुपैयाँ लगानीमा चारतारे रिसोर्ट बनाउने भएको हो ।

सन् २०१२ मा ९५ वटा कोठा क्षमतामा चारतारे होटल निर्माण गर्ने योजनासहित कम्पनी दर्ता भएको थियो ।

कम्पनीले रिसोर्ट निर्माणका लागि ५५ करोड रुपैयाँ कर्जा लिने भएको छ भने २७ करोड ५० लाख रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने भएको छ । हालसम्ममा लगानीकर्ताले ४७ प्रतिशत रकम अर्थात् १३ करोड रुपैयाँको व्यवस्था गरिसकेका छन् ।

कम्पनीले सुरुमा ७४ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्ने योजना बनाएको थियो । तर, अहिले लागत बढेर ८२ करोड ४० लाख रुपैयाँमा निर्माण हुने कम्पनीले अनुमान गरेको छ ।

कम्पनीले रिसोर्ट निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि एक करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले हाल रेष्टुरेन्ट, क्याफे मध्यम स्तरमा सञ्चालन गरिरहेको छ । सोही रेष्टुरेन्ट र क्याफेलाई विस्तार गरी कम्पनीले अत्याधुनिक सुविधासहित रिसोर्ट बनाउने भएको हो । रिसोर्टमा एकोमोन्डेसन, स्वस्थ खाना, ब्याङ्क्वेट, बिजनेस सेन्टर सुविधा, स्वीमिङ पुल, स्पा र जीम, रेष्टुरेन्टको सुविधा हुनेछ ।

कम्पनीले लक्जरियस डेकोरका साथ निर्माण हुने रेटिङमा उल्लेख गरेको छ । एम्पल स्पेस, लार्ज क्विन र किङ साइज बेड, प्रिमियम बेडिङ र लक्जरियस बाथ सामग्रीको सुविधा रिसोर्टमा हुनेछ भने क्यासिनो, स्पा, हेल्थ क्लबलगायत अन्यको पनि सुविधा रहने छ ।

कम्पनीले रिसोर्ट सन् २०२८ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । अफ्नो घर टेम्पल रिसोर्ट प्रालिको स्थापना स्व. खडगबहादुर थापाले गरेका थिए।

कम्पनीमा तीन सदस्यीय सञ्चालक समिति रहेको छ । रेखा राठौर थापा अध्यक्ष रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कुलदीप धोज थापा रहेका छन् भन् निर्देशक कृतेश धोज थापा रहेका छन् ।