सुनकोशी पानी सुरुङमार्फत तराई लैजाने मरिण डाइभर्सनको काम सुस्त, ३० महिनामा ७% काम

१४ अर्ब सात करोड लागत

147
Shares

काठमाडौं । मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ ।

हाल नेपाल सरकारले विपतग्रस्त क्षेत्र र प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सो आयोजनाको महत्वपूर्ण भूमिका रहेको महसुस गरिएको छ । तर एक वर्षअघि नै सो आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले बाँध निर्माणको काम प्रभावकारी रूपमा गरेको देखिएको छैन ।

१४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माणको ठेक्का लिएको सो निर्माण कम्पनीले बाँध निर्माण सुरु भएको ३० महिनामा ७ प्रतिशत मात्र काम भएको छ ।

सो आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँबाट मरिण नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरूमा सिँचाई गरिने छ ।

आयोजनाको डिजाइन प्रवाह ६७ घनमिटर प्रतिसेकेन्ड छ । आयोजनामा सुनकोशी नदीमा १२ मिटर अग्लो डाइभर्सन बाँध निर्माण गरिनेछ । पानी १३.३ किलोमिटर लामो सुरुङमार्फत सारिनेछ। परियोजनामा ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् केन्द्र पनि रहेको छ, जसको पावरहाउस कमलामाई नगरपालिका क्षेत्रमा अवस्थित हुनेछ।

हालसम्म सो आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । २०८४ असोजसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ ।

तस्बिरहरू: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Skip This