ल्हेन्दे खोलामा फेरि आयो भीषण बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता, त्रिशूली-काठमाडौं प्रसारण लाइन’ मा क्षति

329
Shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि ठूलो बाढी आएको छ ।

बुधबार बिहान २ बजेको समयमा रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित ल्हेन्दे खोलामा चीनतर्फबाट पानीको बहाव बढेर बाढी आएको हो । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको छ।

मंगलबार मात्रै चिनियाँ पक्षले नेपालसँग टाँसिएको तिब्बती क्षेत्रमा भारी वर्षा हुने र त्यसबाट ठूलो बाढी आउन सक्ने चेतावनी दिएको थियो ।

ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएको छ । बाढीका कारण भोटेकोशी र त्रिशुली नदीमा जलसतह निक्कै माथि पुगेको स्थानीयबासीले बताएका छन् । बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका बासिन्दालाई भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका क्षेत्रमा सजकता अपनाउन अनुरोध गरिएको छ ।

बाढीका कारण नदी किनारका क्षेत्रहरु डुबानमा परेका छन् । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यसअघि गत असार २४ गते आएको बाढीले नेपाल–चीन मितेरी पुलसहित टिमुरेमा रहेको बन्दरगाहका साथै हाइड्रो पावर वगाएको थियो । मितेरी पुल वगाएका कारण अहिले यो नाकाबाट ओहोरदोहोर र यातायातको सम्पर्क बाटो पूर्ण रुपमा बिच्छेद भएको छ ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन ।

बुधबार बिहान साढे ३ बजे नुवाकोटको बिदुर नगरपालिका इलाकामा बाढी आइपुगेको हुँदा धादिङतर्फ रहेको गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तस्विर : रेडियो लाङटाङ