उत्साहित बन्दै एक्स्पोमा होमियो नाइमा, यी हुन् प्रदर्शनीमा लन्च हुने नयाँ गाडी

3.6k
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुन केही दिन मात्रै बाँकी छ । यहि, साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने एक्स्पोको तयारीमा हाल नाइमा तीब्र रुपमा लागि रहेको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएको जानकारी दिइसकेको छ ।

एक्स्पो नजिकिँदै जाँदा अटो व्यवसायी तथा ग्राहक वर्ग सबैमा उत्साह बढ्दै गएको नाइमा अध्यक्ष ऋतुसिंघ वैद्य बताउँछिन् । ‘हाम्रो लागि यो एक्स्पो नयाँ पनि हो र हालसम्म आईपुग्दा सबै इम्पोर्टर्स तथा म्यानुफ्याक्चर्स एकदमै उत्साहित पनि छौं,’ क्लिकमान्डुसँगको कुराकानीमा अध्यक्ष वैद्यले भनिन्, ‘अटो शो गाडी बिक्रीका लागि मात्रै होइन, हामीले यसलाई ग्राहक, सरकारी निकाय, प्रयोगकर्ता र अटो व्यवसायी सबैको अन्तरक्रियाको माध्यम बनाउने ढंगमा काम गरेका छौं ।’

उनले पार्किङ सुविधा, पठाओसँगको राइड पार्टनर, स्टलको आकार र व्यवस्थापन सबै हिसाबमा यो एक्स्पो निकै व्यवस्थित र सहज किसिमको हुने बताइन् । एक्स्पोमा राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

यी सबै हिसाबमा एक्स्पो निकै व्यवस्थिति र आकर्षक हुने वैद्यको भनाइ छ । उनले ३५ वटा गाडी एउटा नयाँ अटो शोमा लन्च हुनु आफैंमा निकै ठुलो कुरा भएको बताइन् । ‘हामीले जुन मितिमा प्रदर्शनी हल पाएका हौं सोही समय नै एक्स्पो गर्ने निर्णय गरेका हौं । यो उपयुक्त समय पनि हो,’ वैद्यले भनिन्, ‘दशैं नाइमा मोबिलिटी एक्स्पोबाट नै सुरु हुन्छ ।’ उनले नाइमा अटो एक्स्पोमा आफूहरु निकै उत्साहित भएर लागेको पनि प्रतिक्रिया दिइन् ।

एक्स्पो नजिकिँदै गर्दा विभिन्न ब्रान्डले आफ्नो कुन सवारीसाधन त्यहाँ लन्च हुने भन्ने जानकारी पनि दिन थालिसकेका छन् । एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड देख्न पाइनेछ ।

यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाउनेछन् । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा देख्न पाइनेछ । नाइमा अटो शोमा पुराना तथा सोही प्रदर्शनीमा लन्च हुने नयाँ गाडी हेर्न पाइनेछ ।

यी हुन् एक्स्पोमा लन्च हुने नयाँ गाडी

म्याक्सस मिफा-७

नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस मिफा ७ एमपीभी विद्युतीय कार पनि लन्च हुनेछ । चीनको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय मोट्रक्सले प्रदर्शनीमा राख्नेछ । ९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ बताइएको छ ।

३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन-कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोलजस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले यूरो एनक्याप, सी-एनक्याप, ए-एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यो गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ ।

लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’

नाइमा अटो एस्पोमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ प्रदर्शनमा देख्न पाइनेछ । केही दिन अगाडि मात्रै नेपाल भित्रिएको यस गाडीको मूल्य मध्यम रेन्जको हुने बताइएको छ । लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको यस गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम छ ।

स्मार्ट पार्किङसहितका १६ वटा फङ्सन उपलब्ध यस गाडीमा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील रहेको कम्पनीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा १६० किलोवाट क्षमताको रियर माउन्टेड मोटरसहित उपलब्ध यो विद्युतीय सवारी गाडीले एकपटकको फूल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ ।

‘फोर्थिङ ईभी’

लक्ष्मी ई–मोबिलिटीले चीनको विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ पनि नाइमा मोबिलिटी एक्स्पोमा लन्च गर्नेछ । स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको ‘फोर्थिङ’ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात औपचारिक सुरुवात गर्न लागेको हो ।

कुल ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयूभीले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्नसक्ने जनाइएको छ । लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्ल्यू, कायीलगायत ब्रान्डका यात्रुवाहक र मालवाहक गाडी तथा अटो पाट्र्स बिक्रीवितरण गर्दै आएको छ । यस गाडीमार्फत् आफ्नो बजार उपस्थितिलाई थप बलियो बनाउने योजनामा कम्पनी छ ।

‘जेइको जे-५’

नाइमा अटो एस्पोमा एसपीजी अटोमोबाइल्सले भित्र्याएको पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे–५’ पनि देख्न पाइनेछ । एड्भेन्चरस यात्राका लागि बनाइएको जेइको जे–५ एसयूभी आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडी देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे-५ को शार्प एङ्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको कम्पनीको दाबी छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याकबाट सञ्चालन हुने एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपी सर्टिफाइड रेन्ज दिनेछ।

लेभल २ एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरामिक सनरूफ, ५४०–डिग्री सराउन्ड भ्यू क्यामेरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू छन ्। सहरी यात्रा तथा हल्का अफ–रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त रहेको कम्पनीले जनाएको छ । जे–५ मा कनेक्टेड कार टेक्नोलोजी सहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रंक स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट छन् ।

हेनरी भोल्टसको मोडल सी-प्रो

मोबिलिटी एक्स्पोमा हेनरी भोल्टसको सी-प्रो मोडललाई पनि अवलोकनर्ताले देख्न पाउनेछन् । नेपालका लागि हेनरी भोल्टस इलेक्ट्रिक गाडी आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो मोडल प्रदर्शनीमा राख्नेछ । मोडेल एच को आधारमा निर्मित मोडेल सी प्रोले प्रदर्शन सुविधा, र चार्जिङ क्षमतामा ठूलो फड्को मारेको छ।

यस गाडीमा १७.३ किलोवाट आवरबाट २५ किलोवाट आवरको शक्तिशाली लिथियम ब्याट्रीमा अपग्रेड छ भने एक पटकको चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको छ । यस गाडीले ३० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ४० मिनेट भन्दा कममा ८० प्रतिशत चार्ज हुन्छ ।

महिन्द्राको बीई-६ र एक्सईभी-९ई

यस वर्षको नाइमा अटो एक्स्पोमा महिन्द्राका दुई गाडी बीई-६ र एक्सईभी-९ई पनि प्रदर्शनमा हुनेछन् । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले बीई-६ र एक्सईभी-९ई एस्पोमा गाडी प्रदर्शनमा राख्नेछ । बीई-६ र एक्सईभी-९ई दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ । यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ ।

यसलाई १७५ किलोवाटको चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बीई-६ र एक्सईभी-९ई को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी ९ईको एउटा भेरिएन्टमा १९९ किलोवाटको मोटर छ ।

‘एलईभी ०५’ र ‘एलईभी एक्स’

नाइमा अटो शोमा एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले नेपाल भित्र्याएको ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ दुई नयाँ मोडेल राख्नेछ । एलईभी ०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको इलेक्ट्रिक गाडीको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ । ‘एलईभी ०५’ २६५० एमएम लामो ह्विलबेस, १७ इन्चको एलोय ह्विल रहेको ‘एलईभी ०५’ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ ।

‘एलईभी एक्स’मा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहने बताइएको छ ‘एलईभी एक्स’को ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएको छ भने फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजका लागि फ्रङ्स समेत अपडेट गरिएको कम्पनीले जानकारी दिएको छ ।