
काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा २९ हजारभन्दा बढी उजुरी फछर्यौट गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरी गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको छ ।
प्राप्त हुन आएका उजुरीमध्ये सङ्घीय सरकारसँग सम्बन्धित १२ हजार ४७५, प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ रहेको छ ।
आयोगमा उजुरी प्राप्त हुने विभिन्न माध्यममध्ये सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटबाट प्राप्त भएको छ । वेबसाइटबाट १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत आठ हजार ४८८, हुलाक सेवाबाट पाँच हजार ५५५ समेत रहेको छ ।
यसैगरी, टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट दुई हजार ५५८ उजुरी प्राप्त हुन आएको छ ।
आयोगमा प्राप्त भएका उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ अर्थात् ८०.२२ प्रतिशत उजुरी फछर्यौट भएको छ । बाँकी सात हजार ३०० उजुरी भने चालु आवमा जिम्मेवारी सरेर आएको छ ।
प्राप्त उजुरीमध्ये छ हजार ७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।
त्यस्तै, ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको छ । आयोगले आव ०८१/८२ मा ८१ वटा बैठक बसी १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा एक हजार ४११ वटा निर्णय भएका छन् ।
विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकामा कुल ७५३ जनालाई प्रतिवादी बनाई पाँच अर्ब ९७ करोड ७३ लाख आठ हजार ८३८ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।
तीमध्ये घूस रिसवतसँग सम्बन्धित ३७, गैरकानुनी लाभ वा हानिसँग सम्बन्धित ३६, झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी २७, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसँग सम्बन्धित २३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ, सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई र विविध विषयका चारवटा छन् ।
रङ्गेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्ति नियन्त्रणमा लिई निजबाट ५५ लाख १० हजार रुपैयाँ रकम बरामद भएको छ ।
आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दामध्ये आव २०८१/८२ मा ३९५ वटा फैसला भएका छन् । प्राप्त फैसलामध्ये विगत आर्थिक वर्षका २७६ र आर्थिक वर्ष २०८१/८२ का ११९ वटा फैसला रहेका छन् ।
विशेष अदालतबाट आव २०८१/८२ का ११९ वटा फैसलामा ६७.२३ प्रतिशत मुद्दामा कसुर स्थापित भएको छ । विशेष अदालतबाट पूर्णपाठसहितको प्राप्त फैसलामध्ये आर्थिक वर्ष २०८१/८२ मा सर्वोच्च अदालतमा २५१ वटा पुनरावेदन गरिएको र पाँचवटा मुद्दा उपर पुनरावलोकन गरिएको छ ।








प्रतिक्रिया