
काठमाडौं । हिमालयन बैंकको सेयर किन्ने लामो समयदेखिको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रयास विफल भएको छ । हालको संस्थापक सेयरधनी नेसनल लाइफले ओभरटेक गरेपछि हिमालयन बैंकको सेयर किन्ने हिमालयन रिको योजना च्याप्टर क्लोज भयो ।
हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने पाकिस्तानी हबिब बैंकको निकै पुरानो प्रयास हो । तर, बहिर्गमनको उपयुक्त समय नमल्दिा उसका लागि बैंकको सेयरधनी रहिरहन बाध्यता थियो । खासगरी नेपाली बैंकहरुको घट्दो प्रतिफलका कारण हबिब बाहिरिन चाहिरहेको थियो ।
कोभिड महामारी अगावै कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप हबिबको स्वामित्व किन्न चाहन्थ्यो । हबिबले प्रतिकित्ता २८० रुपैयाँमा बेच्न खोजेकोमा राष्ट्र बैंकले प्रक्रिया पुरा गरेर आउनु भन्यो ।
कानुनी व्यवस्थाअनुसार कोही संस्थापक सेयरधनीले बैंकको सेयर बेच्न चाहे सुरुमा हाल कायम रहेका संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने हुन्छ । कायम संस्थापक सेयरधनीलाई बेच्न चाहेको सेयरधनीले तय गरेको मूल्यमा आवेदन दिन ३५ दिनको समय दिइन्छ । सो समयमा कोही संस्थापक सेयरधनी किन्न तयार भए उही प्राथमिकतामा पर्छ । कोही तयार नभए बाहिरको व्यक्ति वा कम्पनीले मौका पाउँछ ।
त्यतिबेला २८० मा किन्न कोही सेयरधनी तयार भएका थिएनन् । तर, तत्कालीन अध्यक्ष मनोजबहादुर श्रेष्ठले अवरोध गरेपछि कमनवेल्थ नेपाल नआएको बताइन्छ । यो २०७६ सालकै कुरा हो ।
त्यसपछि लामो समय हबिबको सेयर बेच्ने सुरसार भएन ।
पछिल्लो समय हबिबले सेयर बिक्री गर्ने र हिमालयन रिइन्स्योरेन्सले किन्ने लिखित समझदारी पनि भइसकेको थियो । त्यसअघि नेपाल राष्ट्र बैंकसामु दुई संस्थाले सेयर किनबेच गर्ने सहमति दिन अनुरोध गरेका थिए । तर, केन्द्रीय बैंकले पुरानै जवाफ दियो । प्रक्रिया पुरा नभएको भन्दै राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको हबिबको सेयर सीधै हिमालयन रिलाई बेच्न अनुमति दिएन ।
अन्ततः हिमालयन बैंकले त्यही प्रक्रिया पुरा गर्नुपर्ने भयो ।
प्रक्रिया सुरू नै नगरी भित्रभित्रै किनबेचको सहमति गरेर राष्ट्र बैंक गएका कारण केन्द्रीय बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई चित्त बुझेको थिएन । राष्ट्र बैंकले ‘अब्जेक्सन’ जनाएसँगै दुई पक्षले प्रक्रिया सुरूदेखि थाल्ने गरी प्रतिबद्धता जनाएपछि अधिकारीले कार्यकालको अन्तिममा राष्ट्र बैंकले ग्रिन सिग्नल दिएको थियो ।
केन्द्रीय बैंकको रोकपछि बहालवाला संस्थापकले सेयर खरिदका लागि अवसर पाउने गरी प्रक्रिया पूरा गर्न बैंकले ३५ दिनको सूचना प्रकाशित गर्यो ।
हिमालयन बैंकका सीईओ अशोक राणा, कम्पनी सचिव बिपीन हाडा र हिमालयन ग्रुपमा आवद्ध एक व्यवसायीले संस्थापक सेयर किन्न सुझाउँदा ‘यति ठूलो लगानी गर्ने हैसियत हामीसँगभन्दा अरु कोसँग छ र ? भन्दै दम्भ देखाएका थिए । सोही दम्भले हिमालयन रिको हिमालयन बैंकमा प्रवेश गर्ने सपना तत्काललाई तुहिएको हो ।
बहालवाला संस्थापक सेयर खरिद गर्न तयार नभएमा ३५ दिन पूरा भएपछि अर्को सूचना प्रकाशित हुने र सोही सूचना अनुसार हिमालयन रिले सेयर खरिदको लागि आवेदन दिएर प्रक्रिया अगाडि बढ्ने थियो । तर, हिमालयन बैंकका रहेको हबिबको सबै संस्थापक सेयर किन्न नेसनल लाइफ तयार भएपछि हिमालयन रिको च्याप्टर क्लोज भएको छ ।
हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले सञ्चालक समिति समक्ष निवेदन दिएको थियो । सोहीअनुसार बैंकले गत जेठ ३० गते एकमुष्ठ किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो ।
यो सूचनाअनुसार हिमालयन रिले आवेदन दिन पाएन । किनकी, ऊ हिमालयन बैंकको बहालवाला संस्थापक सेयरधनी होइन । यदि हिमालयन रिसँग १०० कित्तामात्र बैंकको संस्थापक सेयर हुन्थ्यो भने उसले साउन १ गतेभित्र आवेदन दिन पाउँथ्यो । तर, हिमालयन रि संस्थापक सेयर नकिनेकै कारण नमज्जाले चुक्यो । वर्षौंको योजना तुषारापात भयो ।
स्रोतका अनुसार २०७६ सालमै संस्थापक सेयरमा आवेदन नदिएको कर्मचारी सञ्चय कोष यसपाली पनि किन्न तयार थिएन । नेपाली व्यक्ति तथा कम्पनीले एउटै बैंकमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । हबिबले पनि सेयर टुक्र्याएर नबेच्ने भएपछि कोष ब्याक भयो ।

हिमालयन बैंकका अरु संस्थागत लगानीकर्ताहरु एन ट्रेडिङ, म्युचुअल ट्रेडिङ, आभा इन्टरनेसनल, छाया इन्टरनेसनल, प्रदीपजंग पाण्डे, सशीकान्त अग्रवाल, एसियन इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, रिता मल्ल, प्रभा गोयन्का भिमसरिया, अम्बिका शाह, विजय इन्टरननेसनल, अन्जु खेतान आदी हबिबको सेयर किन्न तयार भएनन् । मात्रै नेशलन लाइफ तयार भयो, त्यो पनि प्रतिकित्ता ११८ रुपैयाँमा ।
नेशनल लाइफमा सिद्धेश्वर कुमार सिंह, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, रणबहादुर शाह, रिता मल्ल, प्रेमा राज्यलक्ष्मी सिंह, इश्वरी प्रसाद रिमाल, स्लिकोट लिमिटेड, राजीव विक्रम शाह, भरतबहादुर बस्नेत र राया राज्यलक्ष्मी शाह ठूला सेयरधनी हुन् ।

स्रोतका अनुसार हिमालयन रिलाई केही वर्षअघि नै हिमालयन बैंकको १ हजार कित्ता जति संस्थापक सेयर खरिद गर्न सुझाव दिइएको थियो । तर, रिका एक ठूला सेयरधनीले ‘त्यो पर्दैन, त्यति धेरै पैसा हामीबाहेक कसले हाल्न सक्छ ?’ भन्ने अडान लिएपछि खरिद गरिएको थिएन ।
‘रिसँग हिमालयनको केही कित्तामात्र संस्थापक सेयर भइदिएको भए जेठ ३० गतेको ३५ दिने सूचनाको अवधि कहिले सकिएला भनेर पर्खनुपर्ने थिएन,’ स्रोत भन्छ, ‘नसोचेको भयो, नेसनल लाइफले हाल्छ होला भनेर सोचेकै थिएनौं । सानो एउटा गल्ती गर्दा यत्रो वर्षदेखिको पखाईं र समय खेरमात्र गयो ।’
ठूलो भए पनि वित्तीय सूचकहरुमा पछि पर्दै आएको हिमालयन बैंकमा नेसनल लाइफले उछिनेर राम्रै भएको हिमालयन रि इन्स्योरेन्सका एक सञ्चालकको तर्क छ । ‘बैंक पछिल्लो ३ वर्षदेखि सञ्चित घाटामा छ भने अहिले पनि पुँजीकोष दबाब, उच्च निष्क्रिय कर्जा जस्ता समस्याबाट गुज्रिरहेकाले हिमालयन बैंक किन्न अवसर नमिलेकै ठीक छ,’ ती सञ्चालकले क्लिकमान्डुसँग भने ।
ती सञ्चालकले यस्तो तर्क गरे पनि हिमालयन रि इन्स्योरेन्सको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छाले सेयरधनीलाई यसबारे अवगत गराएको साधारणसभाको ‘माइन्युट’मा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको गोल्छाले जानकारी गराएका थिए ।
यो प्रकरणले हिमालयन ग्रुपमा आवद्ध व्यवसायीहरुबीच फाटो ल्याउनसक्ने यही समूहमा आवद्ध एक व्यवसायीले बताए ।
‘भवानी राणाजी पनि यही समूहको सदस्य हो, उहाँ सञ्चालक रहेको नेशनल लाइफले सेयर किन्न आवेदन दिएको छ, कतै ग्रुपकै साथीहरुले धोका दिइरहेका छैनन् ? भन्ने प्रश्न पनि उब्जिएको छ,’ यही समूहका ती व्यवसाइले भने ।
हिमालयन बैंकका सीईओ अशोक राणा, कम्पनी सचिव बिपीन हाडा र हिमालयन ग्रुपमा आवद्ध एक व्यवसायीले संस्थापक सेयर किन्न सुझाउँदा ‘यति ठूलो लगानी गर्ने हैसियत हामीसँगभन्दा अरु कोसँग छ र ? भन्दै दम्भ देखाएका थिए । सोही दम्भले हिमालयन रिको हिमालयन बैंकमा प्रवेश गर्ने सपना तत्काललाई तुहिएको हो ।
हिमालयन रिमा एम्बर प्रोभेस्टमेन्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, दिपक भट्टको इन्फिनिटी होल्डिङ्स, जगदम्बा मोटर्स, जगदम्बा स्टिल्स, विकास दुगड, हंशराज हुलासचन्द एन्ड कम्पनी, स्याफ्रोन सीके इन्भेस्टमेन्ट, आरएमसी कन्स्ट्रक्सन एन्ड इन्भेस्टमेन्ट, सशीकान्त अग्रवाल, एकर्ड क्यापफिन, अटल क्यापिटल, कालिका फिनकर्प, कार्भी ग्लोबल, रिषिराज मोर, अजान्ता होल्डिङ्स, विकास जबरा, कैलाश सिरोहिया, किर्ति इम्पेक्स, राहुल कुमार अग्रवाल, राजेश हार्डवेयर, सन्दीप कुमार अग्रवाल, शालिमार इन्भेस्टमेन्ट, शौर्य सिमेन्ट, उज्जीवन मर्चेन्ट, वोन्डर भेन्चर्स लगायतको लगानी छ ।

हिमालयन रिइन्स्योरेन्समा ठूला सेयरधनीका रुपमा रहेका व्यवसायीहरुको एक समूह नेपालको वित्तीय क्षेत्रमा हिमालयन ब्रान्डलाई अघि सार्ने भन्दै हिमालयन नामको कम्पनीमा लगानी गरिरहेका छन् । हिमालयन रिसँगै प्राइम, गुँरास र युनियन लाइफ मर्जर गरेर बनेको हिमालयन लाइफ, चर्चाको केन्द्रमा रहेको नयाँ स्टक एक्स्चेन्ज हिमालयन स्टकमा पनि यीनै व्यवसायी एकबद्ध छन् ।
हिमालयन बैंकमा पनि प्रवेश गरी नेपालको वित्तीय क्षेत्रमा हिमालयन ब्रान्डमा व्यापारिक साम्राज्य स्थापित गर्ने योजना थियो । तर, हिमालयन बैंकमा मिलेको असफलताले हिमालयन ग्रुपको चाल एक कदम पछि परेको छ । हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स नआइरहेको अवस्थामा हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर किन्ने योजना पनि बिफल हुनुले यो समूहका सदस्यहरुबीच विश्वासको वातावरणमा समस्या उत्पन्न हुनसक्ने व्यवसायीहरु बताउँछन् ।








प्रतिक्रिया