आईपीओ ल्याउने अम्बे स्टिलको तयारी, ९ महिनामा सवा ६ अर्बको व्यापार, नाफा मार्जिन बढ्यो

448
Shares

काठमाडौं । अम्बे स्टिल प्रालिले गत आर्थिक वर्षको ९ महिनामा सवा ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख र २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२४ मा ३.५ प्रतिशतले बढेको पाइएको छ । गत आवको ९ महिनामा कम्पनीको नाफा मार्जिन ९.४४ प्रतिशत छ । अघिल्लो आवमा कम्पनीको प्रोफिट मार्जिन ९.३० प्रतिशत थियो । उत्पादन लागत घट्दा गत आर्थिक वर्षमा नाफा मार्जिन घटेको कम्पनीको भनाइ छ ।

आगामी दिनमा लगानी वृद्धिका लागि कर्जाभन्दा स्वपुँजीमा निर्भर हुने लक्षसहित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

अम्बे ग्रुपको लगानी रहेको कम्पनी सन् २००७ मा स्थापना भएको थियो । कम्पनी सन् २०२३ मा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । भैरहवामा उद्योग रहेको कम्पनीले डण्डी, बिलेट, जीआई तार गरी वार्षिक २ लाख ३८ हजार ४ सय मेट्रिक टन उत्पादन गर्दै आएको छ । त्यस्तै कम्पनीले वार्षिक ग्याबियन बक्स ३ लाख स्क्वार मिटर उत्पादन गर्दै आएको छ ।

कम्पनीले अम्बे टीएमटी र अम्बे जीआई ब्रान्डमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५० प्रतिशत र शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ५७ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

Skip This