
काठमाडौं । निक ब्रान्डको ट्रान्सफर्मर उत्पादन गर्ने नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालिको व्यापार २५.७० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.७० प्रतिशतले घटेको हो ।
सन् २०२४ मा १ अर्ब ८३ करोडको व्यापार गरेको कम्पनीले २०२३ मा २ अर्ब ४६ करोड ३० लाख, २०२२ मा १ अर्ब ४४ करोड ७० लाख र सन् २०२१ मा ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले वार्षिक १०० केभीएको १८ हजार ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । सन् १९९१ मा स्थापना भएको कम्पनीले १ केभीए र १० केभीए देखि १३२ केभीको ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा दुई जना बोर्ड निर्देशक छन् । कुशकुमार जोशी र अजयकुमार मुडभरी निर्देशक रहेको कम्पनीले आन्तरिक तथा विदेशमा ट्रान्सफर्मर निर्यात गरी आम्दानी गर्दै आएको छ ।
कम्पनीकाअनुसार पछिल्ला दिनहरुमा निर्यात बढ्दो क्रममा रहेको छ । त्यस्तै कम्पनीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।
कम्पनीले सन् २०२४ मा २० लाख रुपैयाँको ट्रान्सफर्मर निर्यात गरेको थियो । गत आवमा भने निर्यात बढ्दा ४ करोड ४० लाख रुपैयाँको निर्यात गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०२४ मा ०.६ प्रतिशत मात्रै खुद नाफा कमाएको छ । सन् २०२३ मा २ प्रतिशत नाफा कमाएको थियो ।
कम्पनीले सन् २०२१ देखि गत आवको ९ महिनासम्ममा औसतमा उत्पादनको १९ प्रतिशत क्षमता उपयोग गरेको छ । सन् २०२३ मा सबैभन्दा बढी क्षमता उपयोग गरेको कम्पनीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणको टेन्डरअघि सन् २०२४ मा १७ प्रतिशतले व्यापार घटेको कम्पनीले जनाएको छ । त्यस्तै गत आवको ९ महिनाको अवधिमा ५ प्रतिशतले घटेको उल्लेख गरेको छ । गत आवको सो अवधिमा सबैभन्दा बढी १२५ केभीएभन्दा बढीको ट्रान्सफर्मर बिक्री भएको जनाएको छ । उक्त सामग्रीबाट मात्रै सो अवधिमा ६९ प्रतिशत आम्दानी भएको उल्लेख छ ।
कम्पनीले ट्रान्सफर्मर उत्पादन गर्न आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको छ ।







प्रतिक्रिया