बाँदर र बँदेल हेर्न २० जनाले पाए जागिर (सूचीसहित)

203
Shares

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न २० जनालाई हेरालुका रूपमा नियुक्त गरेको छ ।

आइतबार सार्वजनिक गरिएको नामावली अनुसार उनीहरूलाई औपचारिक रुपमा अभिमुखीकरण तथा सम्झौताका लागि ६ साउन (सोमबार) कार्यालयमा उपस्थित हुन सूचित गरिएको छ ।

वन मन्त्रालयअन्तर्गतको लुम्बिनी प्रदेश सरकारको डिभिजन वन कार्यालयले वन्यजन्तुजन्य क्षतिलाई कम गर्ने, कृषकहरूको खेतबारीलाई सुरक्षित बनाउने र मानव–वन्यजन्तु सहअस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले हेरालु नियुक्त गरेको हो ।

उक्त कार्यक्रम डिभिजन वन कार्यालय, अर्घाखाँची तथा कार्यालय अन्तर्गतका वन व्यवस्थापन कार्यक्रमहरूमा संलग्न समुदायसँगको सहकार्यमा सञ्चालन हुने बताइएको छ । यसका लागि सामुदायिक वन समूहहरूका समूह कोषमा मौज्दात रकमको उपयोग गरिनेछ ।

हेरालुहरूले बाँदर तथा बँदेलजस्ता वन्यजन्तुको गतिविधिमा निगरानी गर्ने, कृषकहरूलाई आवश्यक परे सन्देश दिने तथा सम्भावित क्षति न्यूनीकरणका उपायहरू अपनाउने कार्यमा सहयोग पुर्‍याउनेछन् ।

डिभिजन वन कार्यालयले तोकिएको समयमा अभिमुखीकरण कार्यक्रममा उपस्थित नभए सम्झौता स्वतः रद्द हुने स्पष्ट पारेको छ।

बाँदर तथा बँदेल हेरालुमा छनोट भएकाहरूको सूचीमा गणेश पोखरेल, पूर्ण बहादुर केन्देल राना, कृष्णप्रसाद भुसाल, मनोज श्रेष्ठ, टेकनारायण भुसाल, पुष्करराज आचार्य, र अन्य गरी २० जनाको नाम समावेश गरिएको छ ।