आईसीसीको साधारणसभामा पारसको प्रस्तुतीकरणको चर्चा, के भने ?

483
Shares

काठमाडौं । सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक साधारणसभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटको वर्तमान र भविष्यको खाका प्रस्तुत गरे ।

विश्वका १०८ सदस्य राष्ट्रहरू सहभागी उक्त साधारणसभामा पारसले करिब १० मिनेट लामो प्रजेन्टेसन दिए, जसमा नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनादेखि नेपाली क्रिकेटको दिगो विकासको खाका प्रस्तुत गरियो ।

आईसीसीको विशेष आमन्त्रणमा सहभागी बनेका पारसले नेपाल क्रिकेटको विगत, वर्तमान र भविष्यलाई विश्वसामु प्रभावशाली शैलीमा प्रस्तुत गरे । उनले भनाइ सुरु गर्दै भने, ‘जब तपाईँ नेपाली क्रिकेटको समयरेखालाई फर्केर हेर्नुहुन्छ, यो लगभग असम्भव लाग्छ कि हामी कहाँतिर गइरहेका छौं भनेर । अब हाम्रो यात्रामा कुनै रोकावट छैन ।’

पारसले नेपाली क्रिकेटको विगतका संघर्ष र उपलब्धिहरूको स्मरण गर्दै वर्तमानको प्रगति र भविष्यको स्पष्ट दिशाबोध समेत प्रस्तुत गरे ।

एनपीएल: हिमालको देशबाट विश्व क्रिकेटमा छाप

पारसले मुख्यतः एनपीएलबारे प्रजेन्टेसन गरे । उनले यसलाई ‘हिमालयको उत्सव’ को संज्ञा दिँदै भने, ‘हामीले गत वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्‍यौं, जुन हरेक हिसाबले उत्कृष्ट थियो । यसले नेपालभित्रमात्र नभई बाहिरी दुनियाँको कल्पनालाई समेत कब्जा गर्‍यो ।’ एनपीएलमा भारतीय क्रिकेट स्टार शिखर धवन, जिमी नीशमजस्ता अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, उच्चस्तरीय व्यवस्थापन, दर्शकहरूको उत्साह, र ट्रफीमा सगरमाथाको ढुंगा प्रयोग गरिएको सन्देशले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई छुट्टै पहिचान दिलाएको उनले बताए ।

एनपीएल ट्रफीमा सगरमाथाको फेदबाट ल्याइएको ढुंगा राख्नुका पछाडि पर्यावरणीय सन्देश रहेको उल्लेख गर्दै पारसले भने, ‘यदि विश्वव्यापी तापमान वृद्धि एउटा मुद्दा हो भने, हामीले सुनिश्चित गर्नुपर्छ कि, सगरमाथा नेपालमा छ र हामीले हाम्रो वातावरणको संरक्षण गर्नुपर्छ ।’

नेपाली क्रिकेटको संरचना र भविष्य

पारसले नेपालको क्रिकेट संरचना, स्थानीय लगानीकर्ताको सहभागिता, रातो-बल क्रिकेटको विकास, महिला क्रिकेटमा प्राथमिकता र नयाँ प्रतिभाको उदयसमेतको समग्र प्रस्तुति दिए । उनले एनपीएलकै ट्यालेन्ट हन्टबाट फेला परेका एक किशोरको कथा सुनाउँदै, कसरी एक अनजान किशोर अन्डर-१६ हुँदै नेपालको कप्तानसम्म बने, त्यो उदाहरण प्रस्तुत गरे ।

एनपीएलपछिको प्रभावस्वरूप सरकारले खेलकुद बजेट दोब्बर गरेको, पहिलो फ्लडलाइट स्टेडियम निर्माण भइरहेको र स्थानीय तहबाट समेत सहयोग भइरहेको उल्लेख पारसले गरे । उनले भविष्यमा नेपाललाई टेस्ट राष्ट्र बनाउने दीर्घकालीन लक्ष्यतर्फ क्यान अग्रसर रहेको बताए ।

प्रस्तुति अन्त्यतिर उनले नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पहिलो टेस्ट शृंखला खेल्ने उल्लेख गरे । यसलाई नेपालको लागि ऐतिहासिक मोडको रूपमा उल्लेख गर्दै उनले वेस्ट इन्डिज क्रिकेट बोर्डप्रति आभार व्यक्त गरे ।

पारसले नेपालले डिभिजन ५ देखि यात्रा सुरु गर्दै ओडीआई मान्यता प्राप्त गरेको र अहिले पुनः विश्वकप खेलिसकेको सन्दर्भ दिँदै भने, ‘हामीलाई सबैको समर्थन छ, आईसीसीको साथ छ, र आशा छ हामी पूर्ण सदस्य बन्ने दिशातर्फ अगाडि बढ्न सक्छौं ।’ नेपाली क्रिकेटप्रति जनस्तरमा रहेको उत्साह, सरकारको नीति, लगानीकर्ता र समर्पित कार्यशैलीकै कारण नेपाल टेस्ट राष्ट्र बन्ने लक्ष्यमा नजिकिएको उनको ठहर थियो ।