
काठमाडौं । सूर्य नेपाल प्रालिले एकै वर्ष करिब २९ अर्ब रूपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २८ अर्ब ८१ करोड ८० लाख रूपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा २८ अर्ब ९९ करोड रूपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रूपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार गत आवमा सन् २०२३ को तुलनामा १८ करोड रूपैयाँले कम व्यापार गरेको छ ।
सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको सूर्य नेपालले अल्पकालिन कर्जाका लागि ५ अर्ब ७५ करोड रूपैयाँको रेटिङ गराएको छ ।
चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ। कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ। सूर्य नेपालका देशभर १०० भन्दा बढी थोक बिक्रेता छन्।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।
आइटिसीले सन् २०२५ मा एक वर्षमा ७ खर्ब ३४ अर्ब ६५ करोड भारतीय रूपैयाँको व्यापार गरेको छ। आइटिसीको बजार पुँजीकरण ५१ खर्ब २७ अर्ब ६६ करोड भारतीय रूपैयाँ पुगेको छ।
आइटिसी सन् १९१० मा स्थापना भएको थियो। कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रोलगायतका व्यवसायमा आवद्ध छ ।
भारतीय कम्पनी आईटीसीका अध्यक्षसमेत रहेका सन्जिव पुरी नै कम्पनीका अध्यक्ष रहेको कम्पनीले जनाएको छ ।
एफएमसीजी कम्पनीमध्ये सबैभन्दा बढी व्यापार गर्दै आएको कम्पनीको देशभर १ सयभन्दा बढी वितरक छन् ।







प्रतिक्रिया