अबदेखि पहिलो पटक घर किन्नेले मूल्यांकनको ८०%सम्म ऋण पाउने, कर्जा सीमा ३ करोड


काठमाडौं । साउन १ गतेदेखि पहिलो पटक आवासिय प्रयोजनका लागि घर किन्नेले मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याएको हो ।

यस्तो कर्जा ३ करोड रुपैयाँसम्म पाउने राष्ट्र बैंकले जनाएको छ । हाल आवासिय कर्जा २ करोड रुपैयाँसम्म थियो । एकीकृत निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले पहिलो पटक बस्नका लागि र किन्नेहरुलाई सम्मान गरेको हो ।

धितो मूल्यांकनको ८० प्रतिशतसम्मको यस्तो ऋणीले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर÷अपार्टमेन्ट हुनुपर्ने छ । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घर ÷अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने छ ।

यस सुविधा अन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन पाइँदैन । कर्जाको व्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने छ ।

रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको लोन टु रेसिया बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ । तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरु परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिनेछ । यस्तो व्यवस्था हाल ६० प्रतिशतसम्म मात्रै छ ।