
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले स्पेनमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर नफर्किएका नेपाली नागरिकहरूको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मानव तस्करीको सम्भावित सञ्जालमा राजनीतिक संरक्षण रहेको आरोप लगाउँदै, प्रधानमन्त्री स्वयंले यसबारे स्पष्ट पार्नुपर्ने माग राखिन् ।
उनले सन् २०२१ (२०७८ साल फागुन) मा तयार पारिएको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाउँदै भनिन्, ‘यो लुकाउने कारण के हो? नागरिकले जान्न पाउने हक छ।’
श्रेष्ठले भिजिट भिसाका नाममा भइरहेको दुरुपयोग र त्यससँग जोडिएका घटनाको गम्भीर अनुसन्धान गर्न संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरिन् ।
प्रधानमन्त्री ओली सुशासन आयोगका अध्यक्षसमेत भएकाले स्पेन प्रकरणमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनले दोहोर्याइन् ।








प्रतिक्रिया