
काठमाडौं । लामो समयदेखि चलिरहेको आन्तरिक तनावपछि काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दैछ। बजेट आज दिउँसो २ बजे बस्ने नगरसभामा प्रस्तुत गरिनेछ।
सामान्यतः स्थानीय तहहरूले १० असारभित्र बजेट ल्याउने परम्परा रहँदै आएको छ । तर, काठमाडौं महानगरमा आन्तरिक विवादका कारण बजेट प्रस्तुतिमा ढिलाइ भएको हो ।
शुक्रबार बसेको कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो । उक्त बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आह्वान गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका सदस्यहरूले सर्वसम्मत समर्थन गरेका थिए ।
महानगरले आगामी वर्षका लागि करीब २५ अर्ब रुपैयाँको बजेट सीमा तय गरेको छ । बैठकमा मेयर शाहले जनताको चाहनाअनुसार विकासका काम अघि बढाउने भन्दै पूर्वाधार विकासमा बजेट वृद्धि गरिने बताएका थिए ।
त्यसैगरी, चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षमा पूर्वाधार क्षेत्रमा थप लगानी गरिने निर्णय राजस्व परामर्श समितिले पनि गरेको छ ।








प्रतिक्रिया