
एजेन्सी । ब्राजिलमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनमा चीन राष्ट्रपति सी चिनपिङ सहभागी नभएपछि त्यसको कारणका विषयमा सोधखोज भइरहेको छ । १२ वर्षमा पहिलोपटक सी ब्रिक्स सम्मेलनमा अनुपस्थित भएका हुन् ।
उनले भिडियो लिंकमार्फत सम्बोधन समेत गरेनन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियोमार्फत सम्बोधन गरेका थिए ।
कतिपयले भारतसँगको तनाव कायम रहेकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष भेटघाट गर्न नचाहेर सी ब्राजिल नगएको बताएका छन् ।
हिन्दुस्तान टाइम्सले चाहिँ ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाकी पत्नी रोजांगेलाका कारण सी ब्रिक्समा अनुपस्थित भएको खबर दिएको छ ।
उक्त पत्रिकाका अनुसार, जान्जा समेत भनेर चिनिने रोजालेंगाले चीन भ्रमणका क्रममा गरेको टिप्पणीबाट चिनियाँहरू असन्तुष्ट थिए । त्यसैलाई आधार बनाएर सीले ब्राजिल भ्रमण नगरेको अनुमान गरिएको छ ।
गत मे महिनामा लुला पत्नीसहित चीनको भ्रमण गरेका थिए । रात्रिभोजको अवसरमा रोजालेंगाले सीसँग टिकटकको नकारात्मक असरका बारेमा कुरा गरेकी थिइन् । प्रोटोकल भत्काएर रोजालेंगाले सिधै सीसँग कुरा गरेको देख्दा चिनियाँहरूले असहज अनुभव गरेका थिए । रोजालेंगाको कुरा सुनेर सीकी पत्नी पङ लीयुआन स्तब्ध भएको बताइएको थियो ।
टिकटकको अल्गोरिदमले उग्रदक्षिणपन्थी विचारधारा भएका मानिसलाई बढी अवसर दिएको आरोप रोजालेंगाले लगाएकी थिइन् ।
उनले टिकटकका कारण ब्राजिलमा महिला र बालबालिकालाई समस्या परिरहेको पनि बताएकी थिइन् ।
रोजालेंगाले त्यसो भनेपछि चीनका राष्ट्रपति सीले देशमा चल्ने सबै सामाजिक सञ्जाललाई नियमन गर्ने जिम्मेवारी ब्राजिल सरकारको भएको बताएका थिए ।
लुलाले चीनमा पत्नीले सीसँग कुरा गरेको पुष्टि गरेका थिए । तर, त्यसबेलामा कुनै असहज स्थिति नआएको उनले स्पष्ट पारेका थिए ।
रोजालेंगा समाजशास्त्री हुन् र उनी नीति एवं विश्वव्यापी मिडिया मामिलामा चासो राख्छिन् ।
टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको उत्पादन हो र संसारभरि लोकप्रिय छ ।








प्रतिक्रिया