
एजेन्सी । अमेरिकाको जस्टिस डिपार्टमेन्ट र फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले विवादास्पद व्यापारी जेफ्री इप्सटाइनसँग शक्तिशाली व्यक्तिहरूलाई ब्ल्याकमेल गर्ने कुनै सूची नरहेको दाबी गरेका छन् ।
उनको हत्या गरिएको प्रमाण पनि नरहेको दुई निकायको दाबी छ ।
ट्रम्प प्रशासनले इप्सटाइनलाई कैद गरिएको म्यानह्याटन जेलको भिडियो पनि सार्वजनिक गर्न खोजेको छ । त्यस भिडियोमा इप्सटाइनको मृत्यु भएको राति कोही पनि जेलको कोठामा आएको वा त्यहाँबाट निस्केको नदेखिएको बताइएको छ ।
इप्सटाइनले आत्महत्या गरेको भनी स्वास्थ्य अधिकारीले दिएको प्रतिवेदन सही भएको मेमोमा उल्लेख छ ।
एक्सियोस सञ्चारमाध्यमले उक्त मेमो हात पारेको हो ।
इप्सटाइनका गतिविधि र मृत्युका विषयमा चलेका षड्यन्त्र सिद्धान्तहरूलाई ट्रम्प प्रशासनले चिर्न खोजेको देखिन्छ । तर, ट्रम्पले एफबीआईका निर्देशक काश पटेल र उपनिर्देशक ड्यान बोन्गिनोलाई नियुक्त गर्नुअघि उनीहरू नै चर्को स्वरमा इप्सटाइन सम्बन्धी षड्यन्त्र सिद्धान्तको कुरा गर्ने गर्थे ।
सरकारी नियुक्ति पाएपछि भने पटेल र बोन्गिनोले इप्सटाइनको हत्या नभई आत्महत्या भएको बताएका छन् । तर, इप्सटाइनले सरकारी अधिकारी, सेलेब्रिटी र व्यापारीहरूको मनोरञ्जनका लागि कम उमेरका बालिकालाई पठाउने गरेको र त्यसलाई लुकाउनका लागि इप्सटाइनको हत्या गरिएको धेरै जसो अमेरिकीहरूले मान्दै आएका छन् ।
इप्सटाइन मुद्दामा संलग्न अरू कसैलाई पनि आरोप नलगाइने मेमोमा स्पष्ट पारिएको छ । तर, इप्सटाइनकी सहयोगी गिस्लेन म्याक्सवेललाई यौनका लागि बालबालिकाको ओसारपसार र अन्य कसूरमा २० वर्षको सजाय सुनाइएको छ ।
ट्रम्पसमर्थक मेक अमेरिका ग्रेट अगेन अभियन्ताहरूले इप्सटाइन मुद्दामा ट्रम्प प्रशासनले निकालेको निष्कर्षप्रति निराशा व्यक्त गरेका छन् ।
अर्बपति इलोन मस्कले जुन महिनामा ट्रम्पसँगको झगडा चर्किँदा इप्सटाइन सम्बन्धी फाइलमा ट्रम्पको नाम रहेको दाबी गर्दै पोस्ट गरेका थिए । तर, पछि उनले आफू अलिक बहकिएको भन्दै पोस्ट डिलिट गरेका थिए ।
ट्रम्पले ट्रुथ सोसलमा इप्सटाइनका वकिल डेभिड शोएनको बयान पोस्ट गरेका थिए । उक्त बयानमा शोएनले ट्रम्प कुनै पनि अपराधमा संलग्न नरहेको बताएका थिए । शोएनले ट्रम्पलाई पहिलो महाभियोग पुर्पक्षमा पनि प्रतिनिधित्व गरेका थिए ।
तैपनि ट्रम्पले सन् १९९० को दशकमा इप्सटाइनसँग पार्टीहरूमा घुलमिल गर्ने गरेकाले उनको नाम इप्सटाइन फाइलमा रहेको कतिपयको विश्वास छ । सन् २०१७ मा माइकल वुल्फ नामक लेखकसँग कुराकानी गर्र्दै इप्सटाइनले कुनै समय आफू डोनल्ड ट्रम्पको सबभन्दा नजिकको साथी भएको बताएका थिए ।
तर, ट्रम्पले सन् २०१९ मा आफू इप्सटाइनको प्रशंसक नभएको र उनीसँग विगत १५ वर्षदेखि कुराकानी नगरेको बताए ।
इप्सटाइनलाई आफ्नो गल्फ कोर्समा आउनबाट सन् २००० को दशकको आरम्भमै रोकेको पनि ट्रम्पले बताएका थिए ।
विपक्षी डेमोक्रेटहरूले इप्सटाइन र ट्रम्पको सम्बन्धका विषयमा थप जानकारी आवश्यक रहेको बताएका छन् ।
तस्बिर स्रोत: Davidoff Studios Photography / Getty Images file








प्रतिक्रिया