
एजेन्सी । ब्रिक्स सदस्य राष्ट्रहरूले लगानीको वातावरण बनाउनका लागि नयाँ ग्यारेन्टी फन्डको घोषणा गर्ने भएका छन् ।
रोयटर्स समाचार संस्थाले प्रकाशित गरेको खबरअनुसार, त्यो फन्ड न्यु डिभलपमेन्ट बैंकमार्फत उपलब्ध गराइनेछ । ब्रिक्स मुलुकहरूले सन् २०१४ मा उक्त बैंक स्थापित गरेका हुन् ।
विश्व बैंकको बहुपक्षीय लगानी सुनिश्चितता निकाय (मिगा) कै जस्तो गरी नयाँ ग्यारेन्टी फन्ड बनाउन लागिएको हो । यसले अमेरिकाको आर्थिक नीतिमा आएको अनिश्चितताका सन्दर्भमा लगानीका क्षेत्रहरूमा आएका परिवर्तनलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।
ब्राजिल अहिले ब्रिक्सको अध्यक्ष राष्ट्र हो । त्यहाँका अधिकारीहरूले यसलाई यस वर्षको ब्रिक्स सम्मेलनको आर्थिक एजेन्डा बनाएका छन् ।
रियो द जेनेरोमा आइतवारबाट ब्रिक्स शिखर सम्मेलनको आयोजना भइरहेको छ । यस सम्मेलनमा संयुक्त वक्तव्यमार्फत यस फन्डको घोषणा गरिने अपेक्षा छ ।
ब्राजिल, रुस, भारत र चीनले आरम्भ गरेको ब्रिक्स समूहमा पछि दक्षिण अफ्रिकालाई जोडिएको थियो । अहिले यसमा अन्य विकासशील मुलुकहरूलाई सदस्य बनाइएको छ ।
प्रस्तावित ब्रिक्स मल्टिल्याटरल ग्यारेन्टी संयन्त्रलाई सदस्य राष्ट्रहरूबाट प्राविधिक स्वीकृति दिइएको छ । यसमा ब्रिक्स सदस्य राष्ट्रका अर्थमन्त्रीहरूले हस्ताक्षर गरेर औपचारिकता दिने बताइएको छ ।
अहिलेको चरणमा यस फन्डका लागि सदस्य राष्ट्रहरूबाट थप पुँजीको अपेक्षा गरिएको छैन । त्यसको साटो यसले न्यु डिभलपमेन्ट बैंकका मौजुदा स्रोतलाई नै विकासशील मुलुकहरूमा परियोजना निर्माणमा उपयोग गरिनेछ ।
फन्ड स्थापनाका लागि यसै वर्षको अन्त्यसम्ममा प्राविधिक तयारी पूरा हुने अपेक्षा गरिएको छ । सन् २०२६ मा पाइलट प्रोजेक्टहरूले ग्यारेन्टी फन्ड पाउन थाल्नेछन् ।
ब्रिक्स मुलुकहरूमा पूर्वाधार, जलवायु अनुकूलन तथा दिगो विकासमा विशाल स्तरको निजी लगानी आकर्षित गर्ने चुनौती विद्यमान छन् ।
अधिकांश सदस्य राष्ट्रहरूको भन्दा क्रेडिट रेटिङ उच्च भएको न्यु डिभलपमेन्ट बैंकले दिएको ग्यारेन्टीका कारण संस्थागत लगानीकर्ता र कमर्सियल बैंकहरूलाई जोखिम न्यूनीकरणमा सहायता पुग्नेछ ।
तस्बिर स्रोत: Wikimedia Commons








प्रतिक्रिया