
काठमाडौं । पाँच दशक लामो इतिहास बोकेको नाडा अटोमोबाल्स एशोसिएसन अफ नेपाल (नाडा) विभाजनको पहिलो वर्षमै निरीह सावित भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) छुट्टिएर अर्को संस्था बनेको पहिलो वर्षमा नै नाडा निरीह सावित भएको हो । हाल दुबै संस्था अटो शोको तयारीमा छन् भने दुबैले यसैलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् ।
नाडा अटो शोको सहभागिता र आकर्षणलाई हेर्दा तुलनात्मकरुपमा नाइमा भन्दा पछाडि परिसकेको छ । अर्कोतर्फ, नाडाले पछिल्लो पाँच दशकदेखि देखाएको रौनक र लिगेसी यस वर्ष कमजोर भइसकेको छ ।
नाडा अटो शोका लागि वर्षौंदेखि काम गर्दै आएका व्यवसायीलाई फुट र नाडातर्फ देखिएको न्यून आकर्षणले भारी चोट पुराएको छ ।
गत वर्षको नाडा अटो शो २०२४ मा २४ वटा चार पांग्रे ब्रान्ड, १९ वटा दुई पांग्रे र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री लगायतका सामग्रीसहित कुल १३० स्टल रहेका थिए । तर, यस वर्ष अर्थात् ‘नाडा अटो शो २०२५’ मा सो संख्या खुम्चिएर ७५ वटा स्टलमा मात्रै सीमित भएको छ ।
नाडा अटो शोमा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा स्टल रहने नाडाले जनाएको छ । अर्कोतर्फ, पहिलो अटो शो गर्न लागेको नाइमा मोबिलिटी एक्स्पोमा भने ४८ वटा स्टल रहनेछन् । जसमा २३ वटा चारपांग्रे्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुनेछन् ।

नाइमामा कम्पोनेन्टको सहभागिता भने रहने छैन । यदि, कम्पोनेन्टलाई हटाएर तुलना गर्ने हो भने नाइमामा भन्दा कम अर्थात् २७ वटा मात्रै स्टल नाडामा रहने देखिन्छ । अधिकांश दुई पांग्रे ब्रान्डले नाडालाई बहिष्कारको स्थितिमा पुराएका छन् भने चार पांग्रे सवारीसाधन ब्रान्डको सहभागिता पनि नाइमाको बढी छ । विषय संख्यामा कसको कम वा बढी भयो भन्नेमा मात्रैमा सीमित छैन ।
मुख्य विषय त पाँच दशकदेखि नाडाको नाममा जुन किसिमको एकलौटी आकर्षण, एकताको सन्देश, ब्रान्डको सहभागिता देखिँदै आएको थियो त्यो कम भएर गएको छ । करिब दुई साताको फरकमा दुई वटा अटो शो हुने भएकाले र नाइमा अटो शो पहिला हुने भएकाले नाडामा पहिलाको जस्तो रौनक र ओझ देखिने छैन । यसले वर्षौंदेखि उद्योगका लागि देखाउँदै आएको एकता र अटो शोमा गरिएको मिहिनेतलाई अन्याय गर्ने काम भएको गुनासो अटो व्यवसायीले गर्न थालेका छन् ।
‘अटो क्षेत्रदेखि लिएर नाडा अटो शो सम्मले जुन स्थान बनाएको छ त्यो त्यति सजिलै प्राप्त भएको होइन । यो स्थितिमा आउनका लागि हामीले मिहिनेत गरेर धेरै पसिना बगाएका छौं भने समय पनि धेरै खर्चेका छौं,’ नाडाका एक अधिकारीले भने, ‘विगतमा यस क्षेत्रलाई बनाउन गरेको दुःख सम्झिँदा निश्चित फाइदा लिएर नाडा फुटाउन लाग्नेहरुदेखि खपिनसक्नु आक्रोस पैदा हुन्छ ।’
उनले, नाडालाई भर्याङको रुपमा प्रयोग मुलुकका ठूला निजी क्षेत्रको माथिल्लो तहमा पुगेपछि आज सोही संस्थामाथि गरिएको बेइमानी कुनै पनि मानेमा उचित नहुने सुनाए । ‘एक पक्षले नाडा फुटाउने काम मात्रै गरेन । दशकौं लामो लिगेसी बोकेको अटो शोलाई ओझेलमा पार्नका लागि केही दिन अगाडि मात्रै अर्को अटो शो घोषणा गरियो,’ ती अधिकारीले क्लिकमान्डुसँग भने, ‘बजारमा स्वस्थ प्रतिस्पर्धा गर्छु भन्ने ठाउँमा नियोजितरुपमा गरिएको यो प्रहार अटो क्षेत्रका लागि दुर्भाग्य हो।’

नाइमाले आफ्नो अटो शो घोषणा गर्नु अगावै नाडा अटो शोको मिति तय भइसकेको थियो । सोही मितिभन्दा करिब दुई साता अगाडि मात्रै नाइमाले शो राखेर व्यवसायीबीचमा ठूलो खाडल खोतल्ने काम गरेको गुनासो ती अधिकारीको छ । यद्यपि, यो स्थिति सिर्जना हुनुमा नाइमा मात्रै नभएर नाडा नेतृत्व पनि जिम्मेवारी रहेको उनको भनाइ छ ।
१६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका थिए । तर, यस वर्ष नाडाको भन्दा नाइमा अटो शो केही दिन अगाडि मात्रै हुने भएकाले यो सहभागिता र आकर्षण कायम रहन सहज छैन । यो अवलोकन संख्या दुईतर्फ बिभाजन हुँदा तुलनात्मकरुपमा दुबै शो केही सुस्त हुने सम्भावना छ । तथापि, दुई संस्थाबीच एक भन्दा अर्कोलाई अब्बल देखाउनका लागि भने कडा प्रतिस्पर्धामा उत्रिन पर्यत्न गरिरहेका छन् ।
नाइमातर्फ धेरै व्यवसायी सिफ्ट हुँदा र स्टल संख्यामा पनि भारी गिरावट आउँदा नाडा चिन्तित अवस्थामा छ । अर्कोतर्फ, पहिलो अटो शो गर्न लागेको नाइमा भने व्यवसायी तथा ब्रान्डको सहभागितालाई लिएर उत्साहित छ । समयको हिसाबमा अटो शो पनि अगाडि रहेको र सहभागि ब्रान्ड पनि नाइमातर्फ नै बढी रहेकाले नाइमा उत्साहित अवस्थामा देखिएको हो ।
नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँट कार्यक्रममा नै अध्यक्ष ऋतुसिंह वैद्यले अटो ब्रान्डको सहभागिताले उत्साहित भएको प्रतिक्रिया दिएकी थिइन् । ‘हामीले अपेक्षा गरेको भन्दा पनि बढी ब्रान्ड एक्स्पोमा सहभागि हुन आए । यो किसिमको अटो ब्रान्डको सकारात्मक र उत्साहजनक सहभागिताले हामी हर्षित र उत्साहित छौं,’ अध्यक्ष वैद्यले भनिन्, ‘अब हामी प्रदर्शनीलाई उत्कृष्ट बनाउन लागि पर्ने छौं ।’
नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । यसै वर्ष मात्र स्थापना भएको नाइमाले पहिलोपटक अटो शो आयोजना गर्न लागको हो । त्यस्तै, नाडाले भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमै ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यो अटो शो व्यवसायीका लागि प्रतिष्ठाको विषय भएकाले पनि एकले अर्कोलाई कमजोर पार्ने ढंगमा प्रस्तुत भइरहेका छन् ।

अटो शो घोषणा गर्दा नै नाइमाले आफ्नो स्टल २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी गरेको थियो । गत वर्षको नाडा अटो शोमा २ लाख २६ हजार रुपैयाँदेखि करिब १५ लाख रुपैयाँसम्म मूल्यका स्टल उपलब्ध गराइएको थियो । यो विषयलाई मध्येनजर गर्दै नाइमाले सुरुमै सस्तोमा स्टल उपलब्ध राउने उल्लेख गर्दै व्यवसायी आफूतर्फ आकर्षित गर्ने पर्यत्न गरेको देखिन्थ्यो ।
हुन त, लामो समयदेखि दुई संस्थाले एकअर्कालाई तुलना गर्न नमिल्ने र दुबैको स्थापना फरकफरक उद्देश्यसहित भएको दाबी गर्दै आएका थिए । तर, अटो शो नजिकिँदै जाँदा उनीहरु एक अर्कोलाई कमजोर देखाउन र आफ्नो प्रभुत्व कायम गर्न कसरी लागि परेका छन् भन्ने कुरा प्रष्ट हुँदै गएका छन् । अटो शो सम्ममा यो विषय झनै प्रष्ट भएर जाने देखिन्छ जुन धेरै टाढा छैन । हाल दुबै तर्फका कतिपय ब्रान्डले अटो शोमा सार्वजनिक गर्ने गाडी नेपाल भित्र्याउन सुरु गरिसकेका छन् भने यसको जानकारी दिन समेत थालेका छन् ।
नाइमा एक्स्पोमा सहभागी हुने ब्राण्डहरू
चारपांग्रे: बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।
दुईपांग्रेः एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।
कमर्शियलः चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।
नाडा अटो शोमा सहभागी हुने सवारी ब्राण्डहरू
चारपांग्रे: दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङ ।
दुई पाङग्रेः हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा ।
लाइट कमर्शियल भेहिकल ब्राण्डः न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासी/किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई/नाभेको, सनलङ ।
दुबै अटो शोमा सहभागि हुने ब्रान्डहरु
बीवाईडी (चारपांग्रे), रोयल इनफिल्ड (दुईपांग्रे), डोङफेङ र कामा (कमर्सियल) ।







प्रतिक्रिया