
एजेन्सी । न्यु जर्सीको बेडमिन्सटरमा रहेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको गल्फ कोर्समाथिको आकाशमा आइपुगेको एउटा गैरसैन्य विमानलाई एफ–१६ लडाकू विमानले प्रतिबधिन्त क्षेत्रबाट बाहिर पठाएको न्युयोर्क पोस्टले खबर दिएको छ ।
नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड) ले उक्त लडाकू विमान पठाएको थियो । त्यसले गैरसैन्य विमानलाई एस्कोर्ट गरेर अन्यत्र लगेको थियो । एफ–१६ ले हेडबट मनुभर गरेर सिभिलियन विमानका चालकको ध्यानाकर्षण गरेको थियो र पछि प्रतिबन्धित क्षेत्रबाहिर पठाएको थियो ।
ट्रम्पले न्यु जर्सीमा सप्ताहान्त बिताइरहेका छन् ।
गल्फ कोर्समाथि अस्थायी उडान बन्देज (टीएफआर) लगाइएको छ ।
हालैका सातामा यस्ता घटनाहरू दोहोरिरहेका छन् । नोराडले नागरिक उड्डयनका विमानचालकहरूलाई विमान उडाउनुअघि सबै नोटिसहरू अध्ययन गर्न आग्रह गरेको छ ।
गत मार्च महिनामा ट्रम्पको फ्लोरिडास्थित निवासमाथिको प्रतिबन्धित हवाई क्षेत्रमा सिभिलियन विमान प्रवेश गरेको थियो ।
त्यतिखेर एफ–१६ विमानहरूले आगोका मुश्लोहरू देखाएर सिभिलियन विमानचालकको ध्यानाकर्षण गराएका थिए ।
ट्रम्पको सुरक्षाका लागि यी सबै कदमहरू चालिएका हुन् । यिनले ट्रम्पको कार्यतालिका वा सुरक्षामा कुनै असर नपारेको बताइएको छ ।








प्रतिक्रिया