इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँग सहकार्य जारी राख्ने

126
Shares

एजेन्सी । इरानले संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँग सहकार्य जारी राख्ने त्यस देशका विदेशमन्त्री अब्बास अराग्चीले बताएका छन् ।

इरानी संसद्ले आईएईएसँगको सहकार्य स्थगन गर्ने प्रस्ताव पारित गरेको भए पनि राष्ट्रिय सुरक्षा परिषद् मार्फत सहकार्य जारी राख्ने अराग्चीको भनाइ छ ।

इजरायलले इरानका आणविक वैज्ञानिकहरूको हत्या गरेपछि त्यो आईएईएले दिएको सूचनाका आधारमा भएको इरानको विश्वास छ । त्यसैले उसले आईएईएसँग सहकार्य नगर्ने निर्णय लिएको हो ।

इरान आणविक अप्रसार सन्धि र सुरक्षा सहमतिमा प्रतिबद्ध रहेको पनि अराग्चीले बताए । उक्त सन्धिले आणविक हतियारहरूको विस्तारलाई रोक्छ । इरानले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमप्रति विश्वास जगाउन आईएईएसँग सुरक्षा सहमति गरेको थियो ।

इरान र इजरायलबीच जुन महिनामा १२ दिनसम्म युद्ध चलेको थियो । त्यसमा ९३५ इरानी र ३० इजरायलीको मृत्यु भएको थियो ।

युद्धभरि राष्ट्रसंघका आणविक निरीक्षकहरू इरानमा थिए तर उनीहरू आणविक केन्द्र जान पाएका थिएनन् । निरीक्षकहरूले हेर्न नपाउँदा इरानले उच्च संवर्धित युरेनियमको भण्डार कहाँ राखेको होला भन्ने विषयमा चिन्ता व्यक्त गरिएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् १३ सदस्यीय निकाय हो । त्यसमा सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले सदस्य नियुक्त गर्छन् । राष्ट्रपति, संसद्का सभामुख, प्रधानन्यायाधीश र विदेशमन्त्री त्यसका सदस्य हुन्छन् ।

अमेरिकाले इरानको आणविक केन्द्रमा बम प्रहार गरेपछि आणविक कार्यक्रम एकदेखि दुई वर्षले धकेलिएको अमेरिकाको रक्षा मन्त्रालयले जनाएको छ ।