
एजेन्सी । अमेरिकाका दुई सांसदहरूले इजरायललाई बंकर बस्टर बम दिलाउनका लागि राष्ट्रपतिलाई अधिकार दिने प्रस्ताव संसद्समक्ष पेश गरेका छन् ।
डेमोक्रेटिक पार्टीका जोश गटहाइमर र रिपब्लिकन पार्टीका माइक ललरले ३० हजार पाउन्डको बंकर बस्टर बम र बी–२ स्टेल्थ बमवर्षक विमान इजरायललाई दिनका लागि अनुमति दिने प्रस्ताव पेश गरेका हुन् ।
अमेरिकाले गत जुन २२ मा इरानको फोर्दो आणविक केन्द्रमा बंकर बस्टर विमान प्रहार गरेको थियो । इजरायल र इरानबीच युद्ध चलिरहेको बेलामा अमेरिकाले त्यो बम प्रहार गरेको हो ।
इजरायलले इरानका विभिन्न आणविक केन्द्र र सैन्य अड्डामा सयौं आक्रमण गरेको भए पनि फोर्दो र नतान्जका भूमिगत केन्द्रहरूलाई तारो बनाउन सकेको थिएन किनकि उससँग त्यस किसिमको हतियार थिएन ।
अमेरिकी सांसदहरूले पेश गरेको बंकर बस्टर याक्टले इजरायललाई सबै परिस्थितिमा कारवाही चलाउनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिकालाई अधिकार दिनेछ ।
गटहाइमरले त्यो विधेयक सन् २०२२ र २०२४ मा पनि पेश गरेका थिए । तर, त्यो विधेयक पारित हुन सकेको थिएन ।
राज्यद्वारा प्रायोजित आतंकको सबभन्दा ठूलो अभ्यासकर्ता इरान नै भएको र उसले हजारौं अमेरिकीहरूको मृत्यु गराएको गटहाइमरको दाबी छ । बंकर बस्टर याक्टले इजरायललाई इरानी आक्रामकताको प्रतिकार गर्न र इरानका भूमिगत आणविक केन्द्रहरूलाई ध्वस्त पारेर अमेरिकाको राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने गटहाइमरले बताए ।








प्रतिक्रिया