बतास र अटोवे ग्रुपको लगानी रहेको मणिपालले १० महिनामै गर्‍यो गत वर्षबराबरको आम्दानी


काठमाडौं । अटोवे ग्रुप तथा बतास ग्रुपको संयुक्त लगानीमा रहेको नेपाल मनिपाल एजुकेशन एण्ड मेडिकलले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा करिब २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को १० महिनाको अवधिमा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ८८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ७० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कास्की जिल्लाको पोखरामा सन् १९९४ मा स्थापना भएको कम्पनीले ५ सय शैय्याको सुविधासहित मेडिकल सम्बन्धी कोर्सहरु प्रदान गर्दै आएको छ । कम्पनीले अस्पतालको सुविधासँगै एमबीबीएस , बीएसी नर्सिङको अध्ययन अध्यापन हुँदै आएको छ ।

१० हेक्टर क्षेत्रफलमा फैलिएको कम्पनीमा अटोवे ग्रुपको ८३ प्रतिशत र बतास ग्रुपको १७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । सन् २०२४ मा २५ प्रतिशतले बढेको व्यापार सन् २०२५ को १० महिनाको अवधिमा पनि १७ प्रतिशत व्यापार बढेको उल्लेख छ ।

बतास समूहका बारेमा

पोखराको व्यावसायिक घराना बतास अर्गनाइजेसनले २०७८ भदौमा मणिपाल शिक्षण अस्पताल खरिद गरेका थिए । आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेलले फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल खरिद गरेका थिए ।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ बाट पोखराको फूलबारीमा मणिपाल मेडिकल कलेज संचालनमा आएको थियो ।

बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहने गरी ३ अर्ब २२ करोड ६० लाख मणिपाल अस्पताल खरिद गरेका हुन् ।

हस्पिटलको आफ्नै ४० रोपनी जग्गा र लिजमा लिइएको १ सय ६० रोपनीसहित २ सय रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ ।

अटोवेजका बारेमा

पोखरामा प्रधान कार्यालय रहेको अटोवेज प्रालि बुल मसिन इन्डियाको नेपालका लागि आधिकारिक बिक्रेता हो । पोखरामा मुख्य कार्यालयसहित काठमाडौं, विरगञ्ज, चितवन, बुटवल, इटहरी र दाङमा शाखा छन् । अटोवेज टोयोटाको चितवन, बुटवल र पोखराको डिलर पनि हो भने एथरको पोखरा डिलरसिप पनि अटोवेजसँगै छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको अटोवेजले लगानी विस्तारलाई तिब्रता दिएको छ । अटोवेजले अटोमोबाइल, सार्वजनिक यातायात, शिक्षा, पर्यटन, ऊर्जा, स्वास्थ्य, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

पोखरामा अटोबेज प्रालि, मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेजमा प्रालिको लगानी छ । विगत २५ वर्षदेखि अटो व्यवसाय अन्तर्गत टोयोटा र आइसरलगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री बितरण गर्दै आइरहेको छ । अटोवेज ग्रुपका अध्यक्ष नारायण प्रसाद पौडेल हुन् । मणिपालमा अटोवेजको ८३ प्रतिशत लगानी छ ।