केएल दुगड ग्रुपको युनाइटेड सिमेन्टले एक वर्षमा गर्‍यो साढे २ अर्बको व्यापार

0
Shares

काठमाडौं । केएल दुगड ग्रुपको युनाइटेड सिमेन्टले एक वर्षमा साढे २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीकाअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४ प्रतिशतले व्यापार बढेको छ ।

कम्पनीले सन् २०२४ मा साढे २ अर्बको व्यापार गर्दा ३.३४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा २.३३ प्रतिशत नाफा कमाएको थियो ।

सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२४ को जुनमा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले क्लिंकर उत्पादनसँगै सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ओपीसी सिमेन्ट युनाइटेड ब्राण्ड र पीपीसी सिमेन्ट राजधानी ब्राण्डमा बिक्री जितरण गर्दै आएको छ ।

धादिङको नौबिसेमा रहेको उद्योगबाट कम्पनीले वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा उद्योग सञ्चालन गरिरहेको छ ।

नरेश दुगड , कुमुदकुमार दुगड र विकास दुगडको बराबर अर्थात् ३३/३३ प्रतिशत स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४२ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४ अर्ब २२ करोड ९७ लाख रुपैयाँ र अल्कपालीन कर्जाका लागि २ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ ।