
एजेन्सी । इजरायलले इरानसँग युद्धविराम सम्झौताका लागि सहमति जनाएपछि पेट्रोलियम पदार्थको मूल्य मंगलवार लगभग ५ प्रतिशतले घटेको छ ।
तेलको मूल्यका लागि अन्तर्राष्ट्रिय मापदण्डका रूपमा रहेको ब्रेन्ट क्रुड ६८ डलर प्रतिब्यारलमा झरेको छ । गत जुन १३ मा इजरायलले इरानको आणविक केन्द्रहरूमा क्षेप्यास्त्र आक्रमण गरेको दिनको तेलको मूल्यभन्दा यो कम हो ।
लडाइँ चर्किंदै जाँदा इरानले तेलको व्यापक ढुवानी हुने होर्मुज जलमार्गमा नाकाबन्दी गर्न सक्ने चिन्ताका बीच तेलको मूल्य बढेको थियो ।
लडाइँ चलिरहँदा एकपटक तेलको मूल्य ८१ डलर प्रतिब्यारलसम्म पुगेको थियो । त्यसले महँगी बढाएर सर्वसाधारणको जीवनयापन कष्टकर बनाउने हो कि भनी चिन्ता उब्जाएको थियो ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम लागू भइसकेको भनी घोषणा गरेर इजरायलले त्यसमा सहमति जनाएलगत्तै युरोप र एसियामा सेयर बजारमा वृद्धि भएको थियो ।
युद्धविराम कायम रहेमा लगानीकर्ताहरूले तेलको मूल्य सामान्य अवस्थामा फर्किने अपेक्षा गर्न सक्ने फिलिप नोभा नामक कम्पनीकी वरिष्ठ बजार विश्लेषक प्रियंका सचदेवाले बताइन् ।
ट्रम्पले इजरायल र इरान दुवैलाई युद्धविरामको उल्लंघन नगर्नका लागि अनुरोध गरे पनि इरानले उत्तरी इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको इजरायलले आरोप लगाएको छ । तर, इरानले कुनै पनि आक्रमण नगरेको दाबी गरेको छ ।








प्रतिक्रिया