ट्रम्पको युद्धविराम घोषणापछि पनि इरानले इजरायलविरुद्ध गर्‍यो क्षेप्यास्त्र प्रहार

658
Shares


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेको भए पनि इरानले इजरायलविरुद्ध क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इरानले मंगलवार बिहान ६ वटा क्षेप्यास्त्रहरू प्रहार गरेको र त्यसकारण ३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । तेल अभिभ र बीरशेबामा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

उक्त घटनालगत्तै युद्धविराम आरम्भ भएको इरानी सञ्चारमाध्यम प्रेसटीभीले खबर दिएको छ ।

रोयटर्स समाचार संस्थाको खबरअनुसार, तेहरानले युद्धविरामका लागि सहमति जनाएको इरानी अधिकारीले पुष्टि गरेका छन् ।

तर, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलको आक्रमण बन्द नभएसम्म युद्धविरामको गुन्जायस नभएको बताएका छन् ।

इजरायलले तेहरानको समयअनुसार मंगलवार बिहान ४ बजेसम्ममा आक्रमण गरेनछ भने इरानलाई प्रत्याक्रमण गरिरहने उद्देश्य नरहेको उनले बयान दिएका थिए ।

ट्रम्पले पनि इजरायल र इरानले बाँकी रहेका सैन्य मिशनहरूलाई पूरा गर्न दिइने र त्यसपछि युद्धविराम चरणबद्ध रूपमा हुने संकेत दिएका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था एसएनएनले युद्धविरामअघि तेहरानले अन्तिमपटक क्षेप्यास्त्रहरू प्रहार गरेको खबर दिएको छ ।

इरानले आणविक हतियार बनाउन लागेको भन्दै इजरायलले जुन १३ देखि इरानमाथि आक्रमण थालेको थियो । अमेरिकाले पनि उसलाई साथ दिँदै आइतवार बिहान इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको थियो ।