
काठमाडौं । लुम्बिनी प्यालेस रिसोर्टले एक अर्ब लगानी थप गरी क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले एक अर्ब ८ करोड ५० लाख रुपैयाँ लगानी थप गरी क्षमता विस्तार गर्ने भएको हो ।
सन् २०२८ मा पाँचतारे होटलमा विस्तार गर्ने योजना बनाएको रिसोर्टमा हाल ३१ वटा कोठाबाट सुविधा दिँदै आएको छ । रिसोर्टले उक्त क्षमता बढाएर ९१ वटा कोठाको क्षमतामा निर्माण गर्ने भएको छ । विगत ३ वर्षदेखि ३१ वटा कोठको सुविधासहित सेवा दिँदै आएको रिसोर्टले थप लगानी गरी लक्जरियस सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
रिसोर्टले नयाँ बनाउने भनिएको रिसार्टमा सुइट रुमसहित भिल्ला, क्यासिनो, आधुनिक सुविधा, फिटनेस सेन्टर, क्यासिनो, ब्यांक्वेट हल र कन्फरेन्स हल र अन्य विभिन्न सेवाको सुविधा दिने जनाएको छ ।
रिसोर्टले रिसोर्ट विस्तार गर्न दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको छ । रिसोर्टले दीर्घकालीन कर्जाका लागि ८३ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको छ ।
रिसोर्टअनुसार क्षमता विस्तार गर्न ८१ करोड ४० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने भएको छ भने २७ करोड १० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्ने भएको छ । हालसम्म रिसोर्ट निर्माणका लागि ८६ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।
त्यसैगरी एकै वर्ष करिब १२ करोड रुपैयाँको कारोबार गरेको छ । रिसोर्टले सन् २०२४ मा ११ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ७ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । रिसोर्टले सन् २०२४ मा ४० लाख रुपैयाँ नाफा कमाएको छ ।
रिसोर्टको अध्यक्ष डा. राजेन्द्र केसी हुन् । उनीसँग कृषि, शिक्षा, हस्पिटालिटीलगायत अन्य क्षेत्रको अनुभव छ ।







प्रतिक्रिया