
काठमाडौं । धारा ब्राण्डको तोरीको तेल बेच्ने सौरभ आयल एग्रो एण्ड इन्डष्ट्रिजको व्यापार १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा १३ प्रतिशतले घटेको हो ।
सन् २०२२ मा २ अर्ब ४४ करोड २० लाखको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ९५ करोड ८० लाख, सन् २०२४ मा १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् १९९३ मा स्थापना भएको कम्पनीले धारा ब्राण्डको तोरीको तेल र ज्ञान ब्रान्डको विभिन्न प्रकारका दालको व्यापार गर्दै आएको छ ।
कम्पनीले वार्षिक १० हजार ५ सय मेट्रिक टन तेल र १४ हजार ४ सय मेट्रिक टन विभिन्न प्रकारका दालको उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले ९ हजार ८ सय मेट्रिक टन पिना उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ।
केएल दुगड ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीमा नरेश दुगड र कुमुद दुगडको स्वामित्व छ ।
कम्पनीअनुसार सन् २०१९ देखि २०२२ सम्ममा व्यापार उच्च भएको थियो । कम्पनीले सन् २०२२ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, पछिल्ला दिनहरुमा व्यापार घटेर सन् २०२४ मा १ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको जनाएको छ ।
त्यस्तै, कम्पनीको कर्जा १ अर्ब १३ करोड ४० लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले तेल र दालको कच्चा पदार्थ स्वदेशी बजारसँगै विदेशबाट आयात गर्ने गरेको जनाएको छ । कम्पनीले विशेषगरी भारतबाट तोरीको दाना आयात गर्ने गरेको छ भने दालभने सिंगापुर र बेलायतबाट गर्ने गरेको छ ।







प्रतिक्रिया