अझै खुलेन कालीगण्डकी करिडोर सडकखण्ड


गुल्मी । पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको कालीगण्डकी करिडोर सडकखण्ड अझै खुल्न सकेको छैन।

गुल्मीको कालीगण्डकी गाउँपालिका–१ गरगरेस्थित सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको थियो। शुक्रबार बिहान करिब १० बजे अचानक पहिरो खसेपछि गरगरे क्षेत्रको सडकखण्ड शनिबार बिहानसम्म खुलेको छैन् ।

पहिरो पन्छ्याएर बेलुकासम्म सडक खुल्ने अनुमान गरिए पनि पुनः माथिबाट पहिरो खसिरहेकाले साँझसम्मै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए।

पहिरो खसेपछि सवारीसाधनको आवागमन शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ठप्प छ। सो सडकखण्डमा सञ्चालन हुने सवारीसाधन वैकल्पिक सडकमार्फत् आवतजावत गरिरहेको प्रहरीले जनाएको छ।

अवरुद्ध भएको सडकखण्ड हुँदै तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरा लगायतका स्थानमा सवारीसाधन आवतजावत गर्ने गर्छन्। प्रहरीका अनुसार अहिले पनि सडक खुलाउने कार्य भइरहेको छ।

घटनास्थलमा प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट प्रहरी सहायक निरीक्षक कमल प्रसाद बन्जाडेको नेतृत्वमा दुई जनाको प्रहरी टोली खटिएको छ। प्रहरीका अनुसार पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ।

स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सुरक्षित रहन अनुरोध गरेको छ।