
काठमाडौं । मध्यपूर्वका दुई देश इजरायल र इरानबीच एक सतायता सैन्य संघर्ष जारी छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि पुग्ने इजरायलमा रहेका नागरिकलाई सुरक्षित रहन र उक्त देशले जारी गरेको निर्देशन पालन गर्ने नेपाल सरकारले आग्रहसमेत गरेको छ । नेपालले इजयार र इरान दुबैसँग व्यापार गर्दै आएको छ ।
अलजजिरा, एपी, रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार इजरायले इरानमाथि आक्रमण गरेपछि इरानले त्यसको जवाफ दिइरहेको छ । इजरायलले इरानका परमाणु कार्यक्रमका मुख्य संरचनामाथि हवाई आक्रमण गरिरहेको छ भने इरानले इजरायलमाथि सयौं मिसाइल र ड्रोन आक्रमण गरेको छ ।
अल जजिराको एक रिपोर्टअनुसार इरानले इजरायलमाथि करिब ४०० ब्यालिस्टिक र क्रूज मिसाइल साथै ३०० भन्दा बढी ड्रोन प्रहार गरेको छ । तीमध्ये धेरैजसोलाई इजरायली वायु रक्षा प्रणालीले रोक्न सफल भए पनि केही मिसाइल र ड्रोन राजधानी तेलअविभ, बियर शेभा, रमत गान लगायतका क्षेत्रमा पुगेर क्षति पर्याएका छन् ।
रोयटर्सका अनुसार इजरायलले इरानको नातान्ज, अराक र खोडाबस्थित परमाणु अनुसन्धान र युरेनियम प्रशोधन केन्द्रहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमले अराक र नातान्जमा क्षति पुष्टि गरेको छ ।

सयौंको मृत्यु, हजारौं घाइते
एपी न्यूजका अनुसार इरानमा कम्तिमा ६ सय ३९ जनाको मृत्यु भएको छ । जसमा २६३ जना सर्वसाधारण रहेको बताइएको छ । १३०० बढी घाइते छन् । द गार्डियनका अनुसार इजरायलमा २४ देखि ४७ नागरिकको मृत्यु भएको छ भने सयौं घाइते र दर्जनौं अस्पताल तथा आवासीय भवनमा क्षति पुगेको छ ।
बियर शेभास्थित अस्पताल इरानी मिसाइल आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। इजरायली अधिकारीहरूले यस घटनालाई ‘जघन्य नागरिक हमला’ को रूपमा व्याख्या गरेका छन् ।
समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्धको प्रकृति हेरेर अमेरिकाले हस्तक्षेप गर्न सक्ने’ संकेत दिएका छन् । जापान, इन्डोनेसिया र चीनले आफ्ना नागरिकहरूको सुरक्षित उद्धार थालिसकेका छन् ।
रोयटर्सका अनुसार इरानले प्रायः सेजिल, साहब ३ जस्ता मध्यम-दूरीका मिसाइल प्रयोग गरिरहेको छ। प्रारम्भमा ड्रोनमार्फत वायु रक्षा प्रणाली ध्वस्त पार्ने रणनीति अपनाइएको थियो।

युद्धरत इजरायल र इरानसँग नेपालले कतिको गर्छ व्यापार ?
इजराइलसँग नेपालको कूल वैदेशिक कारोबार वार्षिक रुपमा ३ अर्ब रुपैयाँबराबरको छ । यसमध्ये नेपालले इजराइलबाट करिब २ देखि अढाई अर्ब रुपैयाँ बराबरको विभिन्न सामान आयात गर्छ भने ५० करोड रुपैयाँको हाराहारीमा नेपालबाट विभिन्न वस्तु त्यो मुलुकमा निर्यात हुन्छ । इजराइलसँग वार्षिक रुपमा करिब डेढ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा छ ।
इजराइलबाट मुख्य गरी नन अल्कोहोलिक पेय पदार्थ आयात हुन्छ । वार्षिक रुपमा डेढ अर्बदेखि २ अर्बसम्मको यो पदार्थ नेपालमा आयात हुन्छ । यस्तै विभिन्न प्रकार स-साना उपकरण, गार्मेन्ट, लेन्स र डेण्टल फिटिङ सामानलगायत आयात हुन्छ ।
नेपालबाट इजराइलमा सबैभन्दा बढी कटनबाट निर्माण भएको महिलाले लगाउने विभिन्न प्रकारका लुगाफाटा, कुरकुरे, कुरमुरे, लेज, चिजवल्स, पास्ता, जर्दा, खैनी, कार्पेटलगायत निर्यात हुन्छ ।
यस्तै इरानसँग नेपालको कूल वैदेशिक कारोबार वार्षिक ३० देखि ५० करोड रुपैयाँको हाराहारीमा छ । इरानबाट ३ करोडदेखि ५ करोड रुपैयाँसम्मको विभिन्न सामान नेपालमा भित्रिन्छ भने नेपालबाट त्यस मुलुकमा ३० लाखदेखि ७० लाख रुपैयाँसम्मको विभिन्न सामान निर्यात हुँदै आएको छ ।
यस्तै इरानबाट मुख्यगरी अल्कोहोलिक व्हीस्की, महिलाले लगाउने सुट, स्पोर्टस फुटवेयर, सियो, पेट्रालियम बिटुमिन, किवी फ्रुट्स, पिस्तालगायत आयात हुन्छ ।
नेपालबाट इरानमा भने विभिन्न प्रकारका सुगन्धित तेल, सल, स्कार्फ, मफलरलगायतका सामान निर्यात हुँदै आएको छ ।
दुबै देशसँग गरि नेपालले वार्षिक करिब ३ अर्ब रुपैयाँ हाराहारीमा व्यापार गर्ने गरेको छ । दुई देशबीचको युद्धले नेपालसँगको व्यापार पनि प्रभावित हुने छ । नेपालमा इरानले उत्पादन गर्ने रासायनिक मल आउने गरेको छ । विश्व बजामार इरानले रासायनिक मल निर्यात गर्ने गरेको छ । युद्ध चर्किँदै गएको खण्डमा रासायनिक मलको विश्वबजारमा अभाव हुने सम्भावना छ ।
कुन देशमा कति नेपाली ?
नेपाल सरकारले इजरायल सरकारसँग श्रम सम्झौता गरेसँगै नेपालीहरु त्यहाँ पुगेका छन् । अवैध रुपमा इजरायल पुग्नेहरु पनि रहेका छन् ।
२०८१ असार ११ गते इजरायलले आठ सय नेपाली केयर गिभरको माग गरेको थियो । इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो । त्यसपछि ०७८ असोजमा पुनः श्रम सम्झौता नवीकरण भयो । तीन वर्षअघि ११ सय ७५ जनाको माग भई आएकोमा छनोट भएका सबै भने गएका थिएनन् ।
दुवै देशको श्रम सम्झौतामा न्यूनतम मासिक ९० हजार रुपैयाँ तलब सुविधा हुने उल्लेख भए पनि यसपटक दुई लाखभन्दा बढी तलब दिन रोजगारदाता तयार भएका थिए । हाल इजरायलमा करिब १३ सय नेपाली केयर गिभरका रूपमा काम गरिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा ५ हजार ५०० नेपालीहरु छन् भने इरानमा १२ नेपाली छन् । इरानसँग नेपालको श्रम सम्झौता छैन । एफएटीएफको कालोसूची र अमेरिकाको नाकाबन्दीको सूचीमा परेको इरानमा अमेरिकी डलरको चर्को अभाव छ । इरानबाट प्रत्यक्ष रुपमा अन्य मुलुकले आर्थिक कारोबार गर्न हच्किने भएकाले पनि उक्त मुलुकले डलरको अभाव व्यहोर्न बाध्य छ ।
अमेरिकी डलर आर्जन गर्ने उद्देश्यले इरानले अन्तर्राष्ट्रिय बजारको तुलनामा निक्कै सस्तो मूल्यमा इन्धन र रासायनिक मल उपलब्ध गराउँदै आएको छ । इरानले उत्पादन गर्ने इन्धन र रासायनिक मल विश्वबजारमा उत्कृष्ट गुणस्तर र सस्तो मूल्यको मानिन्छ ।
वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारको आग्रह
सरकारले दुई देशबीचको द्वन्द्वका कारण त्यहाँको परिस्थति जटिल बनेको भन्दै हालको अवस्थामा इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारले आग्रह गरेको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले यात्रा जानकारी (ट्राभल एडभाइजरी) जारी गर्दै हाललाई ती मुलुकमा जाने योजना समेत नबनाउन आग्रह गरेको हो ।
‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्र तथा यात्रा नगर्नुहुन्,’ एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नुहुन् ।’
सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले दिएका निर्देशन पालना गर्न र सकेसम्म सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ ।
ती देशबाट नेपाल फर्किन चाहानेको विवरण संकलन गरिरहेको समेत मन्त्रालयले जनाएको छ ।

विश्व अर्थ व्यवस्थामा संकट ?
यदि इजरायल र इरानबीच युद्ध थप चर्किएमा क्षेत्रीय शक्तिहरू पनि संलग्न हुन सक्ने छन् । होर्मुज जलडमरूमध्य बन्द हुने सम्भावना उच्च हुन्छ । त्यो जलमार्गबाट विश्वको ठूलो भागमा तेल आपूर्ति हुने भएकाले ठूलो असर पर्न सक्छ । खाडी क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारहरूमा आक्रमण हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसले गर्दा विश्वबजारमा तेलको मूल्य उच्च हुन सक्ने सम्भावना रहेको छ । विश्वव्यापी महाआर्थिक संकट निम्तिने र अत्यधिक महँगी बढ्ने सम्भावना रहन्छ ।
विश्व आपूर्ति श्रृंखलामा ठूलो स्तरमा अवरोध हुन सक्छ । आपूर्ति रोकिएर उत्पादन ठप्प हुने र आवश्यक वस्तुहरूमा अभाव देखिने सम्भावना रहन्छ ।
युद्ध चर्कँदै जाँदा विश्वका ठूला सेयर बजारहरूमा व्यापक गिरावट आउने छ ।







प्रतिक्रिया