
फेसबूक इन्स्टाग्राम र ह्वाट्सयाप सञ्चालन गर्ने मेटा कम्पनीले ह्वाट्सयापलाई विज्ञापन चलाउन र सब्स्क्रप्शिन मोडलमा आधारित रही मोनेटाइजेशन गर्नुका साथै कम्पनीहरुका च्यानल प्रमोशन गर्न तयारी गरिरहेको छ ।
दैनिक डेढ अर्ब याक्टिभ युजर भएको ह्वाट्सयापका सस्थापकहरू जान कोउम र ब्रायन याक्टनलाई विज्ञापन मन नपर्ने भए पनि अहिले विज्ञापन मोडल अपनाउन लागिएको हो ।
सन् २०१४ मा फेसबूकले लगभग १ करोड ९० लाख डलर तिरेर ह्वाट्सयाप किन्दा ह्वाट्सयापका संस्थापक र कर्मचारीहरूलाई ४ अर्ब डलर नगद, १२ अर्ब डलर बराबरको फेसबूक शेयर र अतिरिक्त ३ अर्ब डलर बराबरको स्टक एकाइहरू उपलब्ध गराएको थियो ।
ह्वाट्यापको पछिल्लो विकासक्रम अनुसार, त्यहाँका च्यानलहरूलाई निश्चित कन्टेन्ट सब्स्क्रिप्शन वालपछाडि राख्ने सुविधा दिइनेछ । त्यो कन्टेन्ट हेर्नका लागि मासिक शुल्क बुझाउनुपर्छ । च्यानल एडमिनहरूले ह्वाट्सयापमा आफ्नो उपस्थिति जनाउका लागि नयाँ टूल पाउँछन् र त्यसका लागि पनि पैसा बुझाउनुपर्छ ।
त्यसबाहेक स्टेटसमा विज्ञापन राख्न पनि मिल्ने भएको छ । कुनै कम्पनीले आफ्नो वस्तु वा सेवा स्टेटसमा राख्दा त्यससँग सजिलै संवाद गर्न सकिनेछ ।
स्टेटस र च्यानलहरू ह्वाट्सयापको अप्डेट्स ट्याबमा रहन्छन् । ह्वाट्सयापमा जोडिएका मानिसले गरेको भिजुअल अप्डेट नै स्टेटस हो ।
च्यानल पनि त्यस्तै हो तर त्यो चाहिँ व्यापारिक कम्पनीहरूले चलाउँछन् । जस्तो, मार्क जकरबर्ग, ह्वाट्सयाप आफैं र लिभरपूल फूटबल क्लबको पनि बेग्लै च्यानल छ ।
अपडेट्स ट्याबमा प्रयोगकर्ताहरूले फलो गर्न मिल्ने थप च्यानलहरू भेट्नेछन् । अप्डेट्स ट्याबले ह्वाट्सयापको मोनेटाइजेशनलाई होस्टिङ गर्नेछ ।
तर मोनेटाइजेशन गरे पनि मेसेज र ग्रुप च्याटमा विज्ञापनको बाढी आउने छैन । अप्डेट्स ट्याबमा मात्र विज्ञापन देखिने र पर्सनल च्याटलाई त्यसले असर नपार्ने मेटाले जनाएको छ । साथीभाइ र प्रियजनसँग च्याट गर्दा विज्ञापनले अवरोध नगर्ने सुनिश्चितता उसले दिएको छ ।
त्यस्तै मेसेज, कल र स्टेटस अप्डेटहरूलाई सुरक्षित राख्ने एन्ड टु एन्८ इन्क्रिप्शनमा पनि कुनै परिवर्तन नहुने मेटाले जनाएको छ । प्रयोगकर्ताले स्टेटस र च्यानलमा देख्ने विज्ञापनलाई कस्टमाइज गरिने र प्रयोगकर्ताको विगतको व्यवहार हेरेर विज्ञापन देखाइने पनि उसले जनाएको छ ।
प्रयोगकर्ताको व्यक्तिगत सूचना बेच्ने उद्देश्य नरहेकोमा मेटाले जोड दिएको छ । जस्तो, ह्वाट्सयापमा दर्ता गरिएका फोन नम्बरहरू विज्ञापनदातालाई दिइने छैन । त्यसबाहेक व्यक्तिगत मेसेज, कल र ग्रुपहरूलाई प्रयोगकर्ताले हेर्ने विज्ञापन निर्धारण गर्ने साधन नबनाइने पनि उसले सुनिश्चित गरेको छ ।
विज्ञापनबाट मेटाले ठूलो रकम कमाइरहेको छ । सन् २०२४ मा मात्र मेटाले आफ्ना सबै प्ल्याटफर्ममा गरी विज्ञापनबाट १६० अर्ब डलर कमाएको थियो । सन् २०२३ मा उसले कमाएको १३२ अर्ब डलर भन्दा यो निकै बढी हो ।
यसरी कमाइ बढिरहेको बेलामा मेटाले ह्वाट्सयापलाई मोनेटाइजेशन गर्न खोजेको हो । यसले मेटालाई कत्तिको फाइदा दिलाउला भन्ने कुरा अर्को वर्षको कमाइ विवरणबाट थाहा हुनेछ ।








प्रतिक्रिया