स्कुलभित्रै भ्यान दुर्घटनामा, एक विद्यार्थीको ज्यान गयो, ७ जना घाइते


काठमाडौं । कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्रै सोमबार दिउँसो एक इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

दिउँसो करिब १ बजे स्कुलको गेटबाट बाहिरिन लागेको अवस्थामा भ्यान स्कुलको गेटको पिलरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादवको उपचारका क्रममा सहिद मेमोरियल अस्पतालमा निधन भएको हो ।

घाइतेहरूमा लालबन्दी, सर्लाहीकी ८ वर्षीया रेश्मा मोक्तान, रामेछापकी ९ वर्षीया नेसिया थापा, कीर्तिपुरकी ९ वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका, र गुल्मीकी ९ वर्षीया प्रेमिसा घर्तीमगर रहेका छन् ।

यस्तै, सोही स्कुलका प्रधानाध्यापक तनहुँका सुरज पोख्रेल र चालक धनुषाका हर्कबहादुर कार्की पनि घाइते भएका छन्।

गेटको छेउमै विद्यार्थी र प्रधानाध्यापक उभिएका बेला भ्यान अनियन्त्रित भइ पिल्लरमा ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही दिनअघि मात्र स्कुलले किनेको उक्त भ्यानमा चालक अभ्यस्त नभएकाले दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।