
एजेन्सी । चिनियाँ क्यामरा निर्माता इन्स्टा३६० को सेयर शाङ्हाई स्टक एक्सचेन्जमा सार्वजनिक रूपमा सूचीबद्ध हुनेबित्तिकै लगभग चारगुणा वृद्धि भएको छ ।
यसले गर्दा कम्पनीको मूल्य करिब ७१ अर्ब युआन अर्थात् ९.९ अर्ब डलर पुगेको छ । यससँगै कम्पनीका ३३ वर्षीय संस्थापक लिउ चिनकाङ अर्बपति बनेका छन् ।
आराशी भिजन नाममा कारोबार गर्ने यो क्यामरा कम्पनी चीनको शनचन शहरमा छ । बुधवार शाङ्हाईको साइन्स यान्ड टेक्नोलोजी इन्नोभेशन बोर्ड (स्टार मार्केट) मा यस कम्पनीले आईपीओका रूपमा १.९४ अर्ब युआन उठायो । कम्पनीको सेयरमूल्य ४७.२७ युआनमा सूचीबद्ध भएर १८२ युआनमा खुलेको थियो । त्यो २८५ प्रतिशतको बढोत्तरी हो ।
नानकिङ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका लिउले सन् २०१५ मा इन्स्टा३६० स्थापना गरेका थिए ।
उनी सन् २०१७ मा फोर्ब्स ३० अन्डर ३० एसिया सूचीमा सूचीकृत भएका थिए । उनकी पत्नीको सेयरसहित करिब २६.८ प्रतिशत स्वामित्वका आधारमा फोर्ब्सले लिउको कुल सम्पत्ति २.७ अर्ब डलर रहेको अनुमान गरेको छ ।
इन्स्टा३६० ले भिडियो र कन्टेन्ट क्रिएटरहरूमाझ लोकप्रियता हासिल गरेको छ । यसका उत्पादनहरूमध्ये ३६० डिग्रीको भिडियो खिच्न सक्ने एक्स सिरिजका क्यामरा र साना गो सिरिजका हल्का एक्शन क्यामराहरू प्रख्यात छन् ।
सन् २०२४ मा कम्पनीको आम्दानी ५.६ अर्ब युआन पुगेको थियो र यो अघिल्लो वर्षको तुलनामा ५३.३ प्रतिशत बढी हो ।
घरेलु बजारमा राम्रो बिक्रीका साथै अमेरिका, युरोप र जापान जस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेकाले इन्स्टा३६० को द्रुत गतिको वृद्धि भएको हो । कम्पनीको विवरणपत्र अनुसार, अघिल्लो वर्षको आम्दानीको ७६ प्रतिशत भाग विदेशी बजारबाट उठेको थियो । अमेरिकामा मात्र १.३ अर्ब युआनको क्यामरा बिक्री भएको थियो ।
अहिले चीन, अमेरिका र जर्मनीमा इन्स्टा३६० का कार्यालयहरू छन् र तिनमा करिब २ हजार कर्मचारी कार्यरत छन् ।
भविष्यमा इन्स्टा३६० ले अमेरिका र चीनबीचको व्यापारयुद्धको सम्भावित असरको सामना गर्नुपर्ने हुन सक्छ । डोनल्ड ट्रम्प प्रशासनले आयातकर नीतिमा ल्याएको परिवर्तनका कारण विदेशमा व्यवसाय विस्तार गर्ने विषयमा अनिश्चितता बढेको कम्पनीको विवरणपत्रमा उल्लेख छ ।
इन्स्टा३६० ले अन्य कम्पनीसँग पनि तीव्र प्रतिस्पर्धा गर्नुपरेको छ । विशेषगरी गोप्रो र डीजेआई जस्ता ड्रोन र क्यामरा उत्पादकहरूले यसलाई कडा टक्कर दिइरहेका छन् । सन् २०२५ मा इन्स्टा३६० विरुद्ध गोप्रोले दायर गरेको पेटेन्ट उल्लंघनसम्बनधी उजुरीमा अन्तर्राष्ट्रिय व्यापार आयोगले छानबिन गरिरहेको छ ।
इन्स्टा३६० ले भर्चुअल रियालिटीसँग अनुकूलन र एआई सम्पादन सुविधाहरूमा पनि ध्यान केन्द्रित गरिरहेको छ । हालै एप्पले आफ्नो भिजन प्रो हेडसेटका लागि इन्स्टा३६० सँग सहकार्य गर्ने घोषणा गरेको थियो । यसका क्यामराहरूबाट खिचिएको भिडियो हेडसेटमा सिधै चल्नेछ ।
कम्पनीले हालै आफ्नो एपका लागि नयाँ एआई उपकरणहरू सार्वजनिक गरेको थियो । यसले प्रयोगकर्ताले खिचेको भिडियोलाई स्वतः संगीत र ट्रान्जिसन मिलाएर सम्पादन गरिदिन्छ ।
स्तरीय सामग्री बनाउन चाहने नयाँ पुस्ताका कन्टेन्ट क्रिएटरहरूका कारण इन्स्टा३६० क्यामराहरूको मागमा वृद्धि भएको हो ।
डेलोइटको एक प्रतिवेदनअनुसार, सन् २०२३ सम्ममा ५ करोड अन्लाइन कन्टेन्ट क्रिएटर र ५ अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता थिए । त्यो संख्या अहिले झन् बढेको हुनुपर्छ ।
यो उदीयमान क्रिएटर इकोनोमीमा सन् २०२६ सम्ममा २० खर्ब डलर बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया