टिकटकमा सबभन्दा धेरै फलोअर भएका व्यक्तिलाई निकालियो अमेरिकाबाट

910
Shares

तस्बिर : एपी
लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा सबैभन्दा धेरै फलोअर भएका खाबी लामे नामक व्यक्तिले अमेरिका छोडेका छन् ।

अमेरिकाको आप्रवासन विभागका अधिकारीहरूले उनलाई भिसा समयभन्दा बढी बसेकाले पक्राउ गरेका थिए ।

एपी समाचार संस्थाका अनुसार, सिनेगली मूलका इटालेली लामेलाई ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार पक्राउ गरिएको थियो । तर उनका विरुद्ध स्वदेशफिर्तीको आदेश जारी हुनुअघि नै उनलाई अमेरिका छोड्ने अनुमति दिइएको अमेरिकाको इम्मिग्रेसन यान्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का प्रवक्ताले जनाए ।

लामे गत अप्रिल ३० मा अमेरिका पुगेका थिए । उनी भिसामा निर्धारित समयभन्दा बढी बसेको आईसका प्रवक्ताले बताए । लामेले आफू पक्राउ परेको विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारवाही चलाइरहेको सन्दर्भमा लामेलाई पक्राउन गरिएको हो र उनले स्वेच्छाले अमेरिका छोडेका हुन् । ट्रम्पको आदेशमा आईसले धरपकड बढाएपछि लस एन्जलज शहरमा दंगा भड्किएको छ ।

लामेले जस्तो गरी स्वेच्छाले अमेरिका छोड्ने अनुमति पाएका व्यक्तिको आप्रवासन रेकर्डमा देशनिकाला आदेश राखिँदैन । त्यस्तो आदेश पाएका व्यक्तिले चाहिँ एक दशकसम्म अमेरिका पस्न पाउँदैनन् ।

लामे कोभिड महामारीका बेलामा प्रसिद्ध भएका हुन् । उनले जीवनमा काम लाग्ने विषयमा बनाइएका जटिल सामग्रीमा एक शब्द पनि नबोलिकन प्रतिक्रिया दिएर बनाएको भिडियोहरू निकै लोकप्रिय छन् ।

टिकटकमा मात्र उनका १६ करोडभन्दा बढी फलोअर छन् ।

सेनेगलमा जन्मेका लामे बाल्यकालमै इटली बसाइँ सरेका थिए । उनीसँग इटलीको पासपोर्ट छ ।

इन्टरनेटमा लोकप्रिय बनेपछि सन् २०२२ मा उनले डिजाइनर ब्रान्ड ह्युगो बोससँग कैयौं वर्षसम्मका लागि सम्झौता गरेका छन् । गत जनवरी महिनामा उनलाई युनिसेफको सद्भाव दूत बनाइएको थियो ।

गत मे महिनामा उनी न्युयोर्क शहरमा आयोजित मेट गालामा सहभागी भएका थिए ।