टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार, प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर

644
Shares

काठमाडौं । नेपाल टेलिकमको विलिङको ठेक्कामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टेलिकमकी प्रवन्ध निर्देशक संगित पहाडीसहित १८ जना व्यक्ति विरुद्ध मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी अख्तियारले गरेको छ । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।

बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।